मो.इर्शाद
महोत्तरी, ८ असार
महोत्तरीको सम्सी गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि ‘मातृ तथा पेरिभेटल मृत्यु निगरानी तथा प्रतिकार्य’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय जलेश्वर, महोत्तरीको आयोजनामा तथा सम्सी गाउँपालिकाको समन्वयमा आयोजित उक्त कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो। चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन गरिएको थियो।
अभिमुखीकरण कार्यक्रममा मातृ तथा नवजात शिशुको मृत्यु न्यूनीकरण, समयमै पहिचान, निगरानी तथा प्रतिकार्यका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष रामनाथ यादव,प्रमुख प्रशासकीय अधिकृत रञ्जितकुमार यादव, वडा अध्यक्ष राकेश यादव,स्वास्थ्य कार्यालय महोत्तरीकी नर्सिङ फोकल पर्सन प्रतिभा सिंह,निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जय बाबु यादव, स्वास्थ्य शाखा प्रमुख सञ्जय कुमार यादव लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रशिक्षक दिपेन्द्र झाले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मातृ तथा पेरिभेटल मृत्यु निगरानी प्रणाली, जोखिम पहिचान तथा समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिसम्बन्धी विषयमा सहजीकरण गरेका थिए।
स्वास्थ्य कार्यालय महोत्तरीकी नर्सिङ फोकल पर्सन प्रतिभा सिंहले यस्ता अभिमुखीकरण कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्दै मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने बताइन्।
कार्यक्रमका क्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँपालिका अध्यक्षसमक्ष आफूहरूले भोग्दै आएका विभिन्न समस्या, चुनौती तथा सेवासुविधासम्बन्धी गुनासाहरू राखेका थिए। उनीहरूले स्वास्थ्य क्षेत्रमा पुर्याउँदै आएको योगदानको कदर गर्दै मासिक भत्ता तथा पारिश्रमिक वृद्धि गर्न समेत माग गरेका थिए।
गाउँपालिका अध्यक्ष रामनाथ यादवले स्वयंसेविकाहरूले उठाएका विषयप्रति गाउँपालिका गम्भीर रहेको बताउँदै सम्भव भएसम्म आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले समुदायको स्वास्थ्य सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा उनीहरूको क्षमता अभिवृद्धि र प्रोत्साहनका लागि पालिकाले आवश्यक सहयोग गर्ने बताए।
