ओ पी साह
जनकपुरधाम, ३० साउन
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्नु पर्ने भन्दै चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न जनचेतना फैलाउने उद्देश्यले जनकपुरधाममा नेपालकै पहिलो एन्टिबायोटिक सचेतना वाकाथन आज आयोजना गरिएको छ।
शुक्रबार बिहान रमानन्द चोकबाट सुरु भएको वाकाथनमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य मन्त्री नागेन्द्र साह, अर्थ मन्त्री युवराज भट्टराई सहित चिकित्सक, स्वास्थ्यकर्मी, युवा, विद्यार्थी, सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेख्य सहभागिता थियो।
वाकाथन मार्फत ‘सही औषधि, सही प्रयोग’ र ‘डाक्टरले भनेको डोज पूरा गरौँ’ भन्ने सन्देश दिइएको थियो। सहभागीले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक प्रयोग नगर्न तथा चिकित्सकले तोकेको मात्रा र अवधि पूरा गर्न आग्रह गरेका थिए।
कार्यक्रममा चिकित्सकहरूले एन्टिबायोटिकको जथाभावी प्रयोगका कारण एन्टिमाइक्रोबियल रेजिस्टेन्स (AMR) बढ्दै गएको भन्दै यसलाई समयमै नियन्त्रण गर्न नसके भविष्यमा सामान्य संक्रमण समेत उपचार गर्न कठिन हुन सक्ने चेतावनी दिएका थिए। उनीहरूले सम्भावित ‘पोस्ट–एन्टिबायोटिक इरा’को जोखिम रोक्न सरकार, स्वास्थ्यकर्मी र आम नागरिक सबै सचेत हुनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले एन्टिबायोटिकको विवेकहीन प्रयोग स्वास्थ्यका लागि गम्भीर चुनौती बन्दै गएको भन्दै जनचेतनामूलक अभियानलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाउने धारणा राख्नुभयो। उहाँले स्वास्थ्य सुरक्षाका लागि चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो।
स्वास्थ्य मन्त्री नागेन्द्र साहले एन्टिबायोटिकको सही प्रयोगसम्बन्धी जनचेतना घर–घरमा पुर्याउनु पर्ने बताउँदै चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक बिक्री तथा प्रयोग नियन्त्रणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य क्षेत्रका सबै सरोकारवाला लाई अभियानमा सहकार्य गर्न आग्रह गर्नुभयो।
अर्थ मन्त्री युवराज भट्टराईले स्वस्थ नागरिक र सुरक्षित समाज निर्माणका लागि यस्ता जनचेतनामूलक अभियान महत्वपूर्ण हुने बताउँदै एन्टिबायोटिकको दुरुपयोग रोक्न सरकारी तथा गैरसरकारी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
अभियानका अभियन्ता तथा अमेरिकामा कार्यरत Kalkiism Research and Training Center का प्रमुख जय साहले वाकाथनले सरकारलाई एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रणका लागि स्पष्ट सन्देश दिएको बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा अभियानलाई थप विस्तार गर्दै ठूलो संख्यामा युवा र चिकित्सकलाई सहभागी गराउने तयारी छ।
साहले आगामी ३० दिनपछि हुने अर्को वाकाथनमा हजारौँ युवा सहित ५०० भन्दा बढी चिकित्सक सहभागी गराउने लक्ष्य रहेको बताउनुभयो। त्यसका लागि जनकपुरका विभिन्न सडकमा स्वागत द्वार निर्माण गरी अभियान लाई व्यापक बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो।
उहाँले आगामी तीन महिनामा जनकपुरमा व्यापक जनचेतना निर्माण गरी चिकित्सकको प्रेस्क्रिप्सन बिना एन्टिबायोटिक बिक्रीमा प्रभावकारी नियन्त्रणका लागि जनस्तरबाटै माग सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभयो।
कार्यक्रमका सहभागीले ‘डाक्टरको पुर्जाबिना एन्टिबायोटिक—स्लो प्वाइजनको टिक–टिक’ लगायतका सन्देशसहित जनचेतना फैलाएका थिए। आयोजकले जनकपुरमा सफल हुने यस्तो अभियानलाई देशका अन्य सहरमा समेत विस्तार गर्ने जनाएको छ।
