जनकपुर जगाउँदै जय साह, एन्टिबायोटिकविरुद्ध ऐतिहासिक वाकाथन – Jaleshwortoday

जनकपुर जगाउँदै जय साह, एन्टिबायोटिकविरुद्ध ऐतिहासिक वाकाथन

 August 15, 2026  
2

दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, ३० साउन

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्दै चिकित्सकको सल्लाहअनुसार मात्र औषधि प्रयोग गर्न जनचेतना फैलाउने उद्देश्यले जनकपुरधाममा नेपालकै पहिलो एन्टिबायोटिक सचेतना वाकाथन आयोजना गरिएको छ।

रमानन्द चोकस्थित रामजानकी सिनेमा हलबाट सुरु भएको वाकाथनमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य मन्त्री नागेन्द्र साह, अर्थ मन्त्री युवराज भट्टराईसहित चिकित्सक, स्वास्थ्यकर्मी, युवा, विद्यार्थी, सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेख्य सहभागिता थियो।

‘सही औषधि, सही प्रयोग’ र ‘डाक्टरले भनेको डोज पूरा गरौँ’ भन्ने सन्देशसहित निकालिएको वाकाथनले एन्टिबायोटिकको जथाभावी प्रयोगविरुद्ध नागरिकलाई सचेत गराएको थियो। सहभागीहरूले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक प्रयोग नगर्न तथा चिकित्सकले तोकेको मात्रा र अवधि पूरा गर्न आग्रह गरेका थिए।

कार्यक्रममा चिकित्सकहरूले एन्टिबायोटिकको अनियन्त्रित प्रयोगका कारण एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) बढ्दै गएको भन्दै समयमै नियन्त्रण गर्न नसके सामान्य संक्रमणको उपचारसमेत चुनौतीपूर्ण बन्न सक्ने चेतावनी दिएका थिए। सम्भावित ‘पोस्ट–एन्टिबायोटिक इरा’को जोखिम रोक्न सरकार, स्वास्थ्यकर्मी र नागरिक सबैको संयुक्त प्रयास आवश्यक रहेको उनीहरूको भनाइ थियो।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले एन्टिबायोटिकको विवेकहीन प्रयोग स्वास्थ्य क्षेत्रका लागि गम्भीर चुनौती बन्दै गएको बताउँदै जनचेतनामूलक अभियानलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो। उहाँले चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्य मन्त्री नागेन्द्र साहले एन्टिबायोटिकको सही प्रयोगसम्बन्धी चेतना घर–घरमा पुर्‍याउनुपर्ने बताउँदै चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक बिक्री तथा प्रयोग नियन्त्रणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अर्थ मन्त्री युवराज भट्टराईले स्वस्थ नागरिक र सुरक्षित समाज निर्माणका लागि यस्ता अभियान महत्वपूर्ण रहेको बताउँदै एन्टिबायोटिकको दुरुपयोग रोक्न सरकारी तथा गैरसरकारी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

अभियानका अभियन्ता तथा अमेरिकामा कार्यरत कल्किज्म रिसर्च एन्ड ट्रेनिङ सेन्टरका प्रमुख जय साहले वाकाथनले एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रणका लागि सरकार र नागरिकलाई स्पष्ट सन्देश दिएको बताउनुभयो। उहाँले आगामी ३० दिनपछि आयोजना हुने अर्को वाकाथनमा हजारौँ युवासहित ५०० भन्दा बढी चिकित्सक सहभागी गराउने लक्ष्य रहेको जानकारी दिनुभयो।

साहका अनुसार आगामी तीन महिनाभित्र जनकपुरधाममा व्यापक जनचेतना निर्माण गर्दै चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक बिक्रीमा प्रभावकारी नियन्त्रणका लागि जनस्तरबाटै दबाब सिर्जना गर्ने अभियानको लक्ष्य छ।

वाकाथनका क्रममा सहभागीहरूले विभिन्न प्लेकार्डमा जनचेतनामूलक सन्देश लेखेर एन्टिबायोटिकको जथाभावी प्रयोग नगर्न नागरिकलाई आह्वान गरेका थिए।

जनकपुरधामबाट सुरु गरिएको अभियानलाई आगामी दिनमा देशका अन्य सहरमा समेत विस्तार गरिने आयोजकले जनाएको छ। अभियानको मूल उद्देश्य एन्टिबायोटिकलाई सामान्य औषधिका रूपमा नभई चिकित्सकीय सल्लाह र जिम्मेवार प्रयोग आवश्यक पर्ने औषधिका रूपमा बुझाउनु रहेको आयोजकले जनाएको छ।