विश्व खेल दिवसको अवसरमा जनकपुरधाममा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता हुने – Jaleshwortoday

विश्व खेल दिवसको अवसरमा जनकपुरधाममा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता हुने

 March 28, 2023  
cc

जलेश्वरटुडे समाचारदाता
धनुषा, १४ चैत्र

विश्व खेल दिवसको अवसर पारेर चैत्र २३ गते देखि जनकपुरधाममा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ धनुषाका संयोजनमा जनकपुरधामको वडा नंं १४ रजौलमा निर्माणाधीन अवस्थामा रहेको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा खेल हुने भएको छ ।

“अन्तर्राष्ट्रिय विकास, शान्तिका लागि खेलकुद” मूल नारा सहित आयोजना हुने प्रतियोगितामा कूल १२ वटा टिमको सहभागिता रहने जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जानकारी दिनुभयो ।

नकआउटको आधारमा खेलाइने क्रिकेट प्रतियोगितामा मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा तथा पर्सा जिल्लाका ८ तथा कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका गरी १२ टिम सहभागी हुने छन् ।

मेयर कप प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ५० हजार नगद, शिल्ड, कप तथा प्रमाणपत्र तथा उपविजेता टिमलाई १ लाख ५० हजार नगद, शिल्डकप, पदक तथा प्रमाणपत्र प्रदान गरिने भएको छ । यसै गरि मेयर कपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, वेष्ट ब्याट्सम्यान, वेष्ट बलर, वेष्ट फिल्डर सहितका खेलाडीहरूलाई पनि नगद तथा कप प्रदान गरिने भएको छ ।