उधारो कानुनको आवश्यकता – Jaleshwortoday

उधारो कानुनको आवश्यकता

 February 1, 2024  
Untitled

  • प्रा.पवन कुमार साह

उधारो कानुनको केही दिनपहिले कोशी प्रदेशका विभिन्न १० उद्योग वाणिज्य सङ्घहरूले उधारो सम्बन्धमा केही प्रस्ताव पास गरे । बजार शिथिल रहेको अहिलेको अवस्थामा उद्योग व्यवसायको कारोबार चक्रलाई लक्षित गरी उधारो कानुन आवश्यक रहेको उनीहरुको निष्कर्ष छ । थप उधारो नदिने र यो अभियानमा अन्य चेम्बरहरूलाई आबद्ध गरी थप प्रयास गर्ने आदि प्रस्ताव उनीहरुले पास गरेका छन् । अहिले हाम्रा लागि उधारो कारोबार ठुलो चुनौतीका रूपमा बढ्दै छ । हामीकहाँ कारोबार चक्रमा अधिकांश कारोबार उधारोमा हुने र उधारो कारोबार नगर्ने कुनै व्यवसाय बजारमा टिक्नै नसक्ने अवस्था छ । प्रश्न उठ्छ— पहिले पहिले उधारो कानुन नभएर पनि व्यवसाय चलेकै थियो, अहिले आएर किन उधारो कानुन चाहियो ?
पहिले उधारो कानुनबिना व्यवसाय चले पनि समस्या धेरै थिए । उधारोका कारण धेरै कारोबारी बिग्रिए पनि यो उनीहरूको व्यक्तिगत समस्या मानिन्थ्यो । अर्कोतिर पहिले व्यवसायमा नैतिकता पनि थियो । बजारबाट उधारो ल्याएपछि त्यसको पैसा समयमै भुक्तानी गर्नु आफ्नो कर्तव्य ठान्ने व्यवसायीको ठूलो जमात थियो । ५–७ प्रतिशत कारोबार बिग्रिहाले पनि त्यो वास्तविक समस्याका आधारमा बिग्रिएको हो भन्न सकिन्थ्यो, तर २०७२ सालको भूकम्प, कोभिड कालपछि बिस्तारै बजारको कारोबारमा इमानभन्दा बेइमान बलियो हुँदै गयो । कारोबारमा लिएको उधारो नतिर्ने, सामान लगिसकेपछि फोन नउठाउने, भेट्न जाँदा नभेट्ने, कसै गरी भेटेर पैसा माग्दा ‘म दिन्नँ, जे गर्नुपर्छ, त्यही गर’ भन्नेजस्ता प्रवृत्ति आम हुँदै गए । बजारमा प्रतिस्पर्धाका कारणबाट उधारो दिने व्यवसायी पनि बढी भए । एक ठाउँबाट उधारो ल्याउने, त्यसको नतिरी पुनः अर्को अर्को ठाउँबाट उधारो लिने, त्यहाँ पनि नतिरी अन्यत्रबाट उधारो लिने प्रवृत्ति बढ्दै गयो । उधारोबाट ल्याएको सामान बेची निजी काममा लगाउने, जग्गा, गाडी किन्ने वा बच्चाको शिक्षा, व्रतबन्ध, विवाहजस्ता कार्यमा खर्च गरी उधारो नै नतिर्ने प्रवृत्ति व्यापक हुँदै गयो । वर्तमान आर्थिक शिथिलताको अवस्थामा उधारोको पैसा माग्यो भने ‘छैन जे गर्नुछ गर’, ‘बढी दबाब दियौ भने तिम्रो नाममा आत्महत्या निरुत्साहितको चिठी लेखेर सुसाइड गरी तिमीलाई जेल पठाउँछु’ भन्ने जस्ता उग्रधार पनि देखिन थाल्यो । अर्को समस्या, उधारो उठिहाले पनि उठाउन लामो समय लाग्ने, ३० दिनदेखि ४५ दिनभित्र उठ्नुपर्ने रकम चार–पाँच महिना लाग्ने, पैसा उठाउन धेरै ताकेता गर्नुपर्ने, ताकेता र कर्मचारी खटाउँदा त्यसको लागत बढ्नेजस्ता प्रवृत्ति आम हुँदै गए । जसले गर्दा बजारमा नगद प्रवाह कमजोर भयो । वर्ष दिनमा दुईपटक मात्र कारोबारको रोटेसन हुन गयो । यसको असरले कारोबारमा बैंक ब्याज बढी लाग्यो, सामानको मूल्य बढ्यो र सामान महँगियो । फलतः उत्पादक, वितरक एवं उपभोग सबै मर्कामा परे । बजारमा कारोबारमा मन्दी आयो, जो अहिलेको ठूलो समस्या हो । अब के गर्ने त ? उधारो कारोबारको व्यवस्थापन गर्न सरकारले कानुन बनाउन अति जरुरी छ । कुनै बैंकमा खाता खोलेर चेक लिई सो चेक काटेपछि खातामा पैसा नभएर चेक बाउन्स भए त्यो सरकारवादी मुद्दा हुन्छ । उधारो कानुनको कार्यान्वयन गर्न जरुरी छ ।