आवास भनेर अस्पताल बनाउँदा स्थानीयको विरोध, काम रोक्का – Jaleshwortoday

आवास भनेर अस्पताल बनाउँदा स्थानीयको विरोध, काम रोक्का

 March 29, 2024  
hospital

जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ चैत्र

धनुषा जिल्ला अदालतले रोक्का राख्न गरेको आदेश विपरीत जनकपुरधाम–१ स्थित रामबाबु रमण जयसवालले अस्पताल निर्माण कार्यलाई निरन्तरता दिएका छन् ।
जयसवालले १२ फिटको बाटोमा पर्ने आप्mनो करिब एक कट्ठा आठ धुर जग्गामा अस्पताल निर्माण गर्न लागेका हुन् । सहायक बाटोमा अस्पताल निर्माण गर्न खोज्दा स्थानीयले विरोध गर्दै आएका छन् । करिब तीन वर्षदेखि निर्माणाधीन उक्त अस्पताल भवन निर्माणको लागि जनकपुरधाम उपमहानगरपालिकाका तत्कालीन नगरप्रमुख लालकिशोर साहले इजाजत दिएका थिएनन् । तर, केही दिन अघि मात्र उनले जनकपुरधाम उपमहानगरपालिकाबाट आवासको लागि भवन बनाउन लागेको भनेर इजाजत लिएका थिए । तर, उनले आवासको नाउँमा अस्पताल बनाउन लागेको सुइको पाएपछि स्थानीय चन्द्रदीप यादवले गएको फागुनमा धनुुषा जिल्ला अदालतमा निर्माण कार्य रोक्काको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए । उनको रिट निवेदनमा सुनुवाई गर्दै धनुषा जिल्ला अदालतले गएको फागुन २४ गते निर्माण कार्य यथास्थितिमा रोक्का राख्न आदेश गरेको थियो । तर, जयसवालले अदालतको आदेशको अपहेलना गर्दै निर्माण कार्यलाई निरन्तरता दिएको स्थानीय यादवले बताए ।
उनले निर्माण कार्य अगाडि बढाएपछि पुनः गएको चैत ९ गते अदालतमा आदेश कार्यान्वयनको लागि रिटनिवेदन दर्ता गराएका हुन् । धनुषा अस्पतालका संचालक समेत रहेका जयसवाल लामो समयदेखि सहायक बाटोमा रहेको निजी जग्गामा अस्पताल बनाउन प्रयासरत्त रहेको अर्का स्थानीय कैलाश साहले बताए । साहको अनुसार एउटा गाडि आवतजावत गर्न कठिनाई भइरहेको बाटोमा अस्पताल निर्माण गर्दा बाटो नै अवरुद्ध हुने र पार्किङ गर्ने जग्गा समेत नरहेकाले आपूmहरुलाई भविष्यमा समस्या हुने बताए । एक कट्ठा आठ धुर रहेको जग्गा मुस्किलले अव एक कट्ठा पुग्ने साहले दावी गरे ।
शुक्रबार बिहान अस्पताल निर्माणस्थल पुगेर प्रहरीले काम बन्द गराएको हो । अस्पताल बनाउन लागेको ठाउँ सांघुरो रहेपनि उपमहानगरपालिकाले आँखा चिमलेर इजाजत दिएकोमा स्थानीयहरुले दुख व्यक्त गरे ।