गड्यौला पालनतर्फ कुम्भकर्णको किसान आकर्षित – Jaleshwortoday

गड्यौला पालनतर्फ कुम्भकर्णको किसान आकर्षित

 June 28, 2024  
1

जलेश्वरटुडे समाचारदाता
धनुषा, १३ आषाढ

धनुषा शहीदनगर नगरपालिका–१ कुम्भकरणका किसानहरु प्राङ्गारिक मल तर्फ आकर्षित हुन थालेका छन । त्याहाका किसानहरु आफ्नो खेतवारीका लागि गड्यौला पालनसहित भर्मिकम्पोष्ट मल तयार गर्नमा व्यस्त देखिएका छन् ।

लुथरन वल्र्ड फेडरेशनको सहयोगमा आसमान नेपालले संचालन गरेको सामुदायिक सशक्तिकरण तथा विकासका लागि स्थानीय प्रयास (लाइसेड) परियोजना अन्तर्गत सामूहिक रुपमा भर्मिकम्पोष्ट मल तयार गर्दै आएका छन् ।

अन्य कम्पोष्ट मलभन्दा पोषक तत्व तथा प्राङ्गारिक पदार्थ बढी हुने र मलमा हुने सुक्ष्म जीवहरुले माटोको उर्बरा शक्ति (मलिलोपना) र अन्य गुणहरु पनि वृद्धि गर्ने भएकाले भर्मिकम्पोष्टलाई एक उत्कृष्ट प्राङ्गारिक मल रहेको किसानहरु बताउँछन । किसान रामसुन्दर यादवले आफू पहिलो चोटी यसप्रकारको मल प्रयोग गरेको जो निकै सफल भएको बताए ।

पछिल्लो समय खेतीमा अनधिकृत रुपमा प्रयोग भइरहेको रसायनिक मल तथा विषादीका कारण माटोमा पाउने सुक्ष्म जीवको संख्यामा कमी आइ माटोको उर्वरा शक्तिमा ह्रास आइरहेको छ । माटोको प्राकृतिक गुण कायम राख्नुका साथसाथै माटोको मलिलोपना बढाउन भर्मिकम्पोष्ट एकदमै उपयोगी रहेको रामसुन्दर बताउँछन् ।

रामसुन्दरले घरसँगै रहेको बारीमा भर्मिकम्पोष्ट मल तयार गरेर उत्साहित छन् । तरकारी खेतीमा रासायनिक मलको प्रयोग नगरेर कम्पोष्ट मल नै प्रयोग गरिरहेको उनी सुनाउँछन् । रासायनिक मलको तुलनामा सस्तो हुनुका साथै माटोको उर्वरक शक्ति पनि लामो समयसम्म टिक्ने गरेको रामसुन्दरको अनुभव छ ।

कुम्भकरणका किसानहरुले रामसुन्दरको नेतृत्वमा २१ सदस्यीय यदुवंशी कृषक समूह गठन गरेर भर्मिकम्पोष्ट मल बनाउनमा जुटेका छन् ।

रसायनिक मल तथा विषादीले मानव स्वास्थ्यमा देखिइरहेका अनेकन् समस्याका कारण प्राङ्गारिक उत्पादन तर्फ आकर्षण बढिरहेका बेला प्राङ्गारिक खेती गर्न खोज्ने किसानका लागि भने यो सबैभन्दा उत्तम र सजिलो विकल्प हो । यसका अतिरिक्त घर तथा खेतबारीबाट उत्पादन हुने जैविक फोहोर व्यवस्थापनका लागि पनि अत्यन्तै उपयोगी प्रविधि रहेको आसमान नेपालका बिजय कुमार यादवले बताए ।

गड्यौला पालनका लागि १ मिटर चौडाई, ६० से.मी उचाई र ५ मिटर लम्वाई अथवा लम्बाई आफ्नो आवश्कता अनुसारको पिट अथवा बिन तयार गर्नुपर्छ । आफ्नो स्रोत अनुसार, पिट जति पनि बनाउन सकिन्छ, माथिबाट घामपानी बचाउन खर, पराल वा प्लाष्टिकले छाउनु पर्दछ । सकेसम्म छानाबाट तातो नछिर्ने खालको अथवा घामको प्रकाशले तल तातो नहुने खालको बनाउनु पर्छ जानकारहरु बताउँछन ।

यो मल प्रयोग गर्दा मुख्य खाद्यतत्वहरुको साथसाथै सुक्ष्मतत्वहरु, भिटामिन, हमार्ने एन्टीबयोटिक र इन्जाइम आदि बोट विरुवालाई उपलव्ध हुने भएकाले हामी किसानलाई यो खाद्य बनाउन सहयोग गरिरहेको आसमान नेपालका यादवले बताए । उत्पादकत्व बढाउनमा पनि यो कल प्रभावकारी भएकाले पनि किानहरु आकर्षित भइरहेका छन ।

गड्यौला राख्नुभन्दा पहिले १५ देखि २० दिन खाद लगाएर सेलाएको गोबरलाई प्रयोग गर्नुपर्छ । तल घाँस, पराल वा सोत्तरको एक तह राखी त्यसमाथि सेलाएको गोबर एक तह राख्नुपर्छ, यसो गर्दा सोत्तर राम्रोसँग भिजेको हुनुपर्छ र तह–तह बनाएर राख्नुपर्छ र माथिल्लो सतहमा गोबर मसिलो बनाएर राख्नुपर्ने रामसुन्दर बताउँछन् । गोबर भरिएपछि एक छेउबाट गड्यौला छोड्नुपर्छ । गड्यौला धेरै भए फरक पर्दैन तर कम्तिमा प्रतिवर्ग फिट २०० का दरले राख्नुपर्छ ।

गड्यौला छोडिसकेपछि माथिबाट जुटको बोरा राखी झाहरीको सहायताले पानी हाल्नुपर्छ र त्यो बोरालाई चिसो बनाइराख्नुपर्ने यदुवंशी कृषक समूहका श्यामो देवी बताउँछिन् । पिटमा जम्मा भएको पानी जुन पाईपबाट बाहिर निस्किन्छ, त्यसलाई एउटा भाँडोमा जम्मा गरी पातलो हुदाँसम्म प्रयोग गर्न सकिन्छ र बाक्लो र गाढा भएपछि यसलाई पनि मलको रुपमै प्रयोग गर्न सकिन्छ । यसलाई भर्मीवास भनिन्छ । १ लिटर भर्मीवासमा ४ लिटर पानी मिसाई बिरुवामा छर्न सकिन्छ ।