जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ आषाढ
शहीदनगर नगरपालिका–६ हठिपुरकी इन्दु मण्डलले सिलाइकटाई व्यवसायबाट राम्रो आम्दानी गर्दै आएकी छन् । उनी घरमै मेशिन राखेर कपडा सिउने गरेकी छन् । इन्दु परम्परागत पेशालाई आधुनिक बनाउँदै लगेकी छन् ।
इन्दुले भनिन्, ‘पहिले मजदूरी गर्दा जसोतसो बालबच्चाको छाक टार्न सकेको थिए । बालबालिकालाई पढाउन मुस्किल थियो । तर, आसमान नेपालले दिएको सिलाई कटाई सम्बन्धी तालिम प्राप्त गरेर अहिले दैनिक मजदूरी छाडेर अहिले कपडा सिलाई गर्दै आएको इन्दु सुनाउँछिन् ।
लुथरन वल्र्ड फेडरेशनको सहयोगमा आसमान नेपालले संचालन गरेको सामुदायिक सशक्तिकरण तथा विकासका लागि स्थानीय प्रयास (लाइसेड) परियोजना अन्तर्गत इन्दुले सिलाई कटाइ मेशिन खरिद गर्नको लागि नगद १५ हजार आर्थिक सहयोग समेत प्राप्त गरेकी छन् । आसमान नेपालबाट प्राप्त रकमबाट मेशिन खरिद गरेर घरमै कपडा सिलाई कार्य गर्दै आएकी उनी सुनाउँछिन् । पेट्टीकोट, ब्लाउज, कुर्ता, सलवार लगायका कपडा सिलाई गरी दैनिक चारदेखि पाँच सय आम्दानी गरेको इन्दुले भनिन् ।
घर नजिकै इन्दुले एक गुम्तीमा किराना पसल समेत थापेकी छन् । दिउँसोतिर किराना पसलमा बसेकी इन्दु बिहान खाना पकाएर बालबालिकालाई विद्यालय पठाएपछि फुर्सदको समयमा किराना पसलमा बस्ने गरेको बताउँछिन् । कपडाको चाप हुँदा किराना पसलमा नबसेर मेशिन चलाउने गरेको उनको भनाइ छ ।
साँझ र रातिको समयमा पनि कपडा सिलाईको काम गर्दै आएको इन्दुले बताइन् ।
गरिबीका कारण उनको परिवारले धेरै समस्यासँग मुकाबिला गर्नुपरेको छ । श्रीमान अझै दैनिक मजदूरी गर्दै आएको सुनाउँदै उनले भनिन् गरिबीका कारण पढ्न पनि पाएनन् । इन्दुले भनिन, ‘ज्याला मजदुरी गरेर कमाएको खान लाउनमै ठिक्क हुने, खेतीपाती गर्न आफ्नो जग्गा जमीन पनि थिएन् ।
घर परिवार चलाउन अहिले लुगा सिउने कामले निकै सहयोग पुगेको उनी भन्छिन् ।
अति विपन्न, गरिबको आयस्तर उकास्न तथा आत्मनिर्भर बनाउनको लागि व्यवसाय व्यवस्थापन तालिम, स्वरोज सम्बन्धी तालिमहरु दिएको आसमान नेपालका बिजय कुमार यादवले बताए ।
सिलाई कटाइ तालिम, गड्यौला पालन, बाख्रा पालन, किराना पसल लगायत आत्मनिर्भर हुने विभिन्न व्यवसायिक तालिमहरुबाट शहीदनगर नगरपालिकाका सयौ महिला पुरुष लाभान्वित बनेको यादवले बताए ।
‘आफूसँग सिलाउने सीप भयो,’ इन्दुले भनिन, ‘अरुको काम गर्नुभन्दा आफ्नै पसल खोलेर काम गर्नुपर्छ भन्ने सोच आयो ।’
उनले आजभन्दा ४ वर्ष अगाडि आफ्नै सिलाइ मेशिन किनेर सिलाईको काम गर्न थालिन् । ‘एउटा मेसिन थियो’, उनले भनिन, ‘कमाइ त हुन्थ्यो तर सोचे जस्तो कमाइ हुँदैन थियो ।’
तर पनि उनले असहजताका बीच काम गर्दै आइरहे । उनले भनिन, ‘सिलाई कटाई गरेको पैसाबाट घर खर्च चलाउन केही सहज त भयो, जेनतेन छोराछोरीहरुलाई पढाएँ, आफूले गरिबीका कारण पढ्न नपाए पनि छोरालाई पढाउन सकेको छु ।’ इन्दुका एक छोरा र एक छोरी छन । छोरा अनुराग मण्डल कक्षा ५ मा अध्ययनरत्त छन् भने छोरी अहिले विद्यालय जाने भएकी छैनन् ।
सिलाई कटाइबाटै घर खर्च धान्दै आएका इन्दुलाई काम गर्ने सामानको भने सधैं अभाव नै रह्यो । उनको सामग्री अभाव अहिले बिस्तारै पूरा हुँदै गइरहेको छ । अभावका बीच काम गर्दै आइरहेकी उनले सोचेजस्तो कमाई भने गर्न पाएका थिएनन् ।
इन्दु भन्छिन्, ‘सीप सिकेर व्यवसाय गरेर आफ्नै ठाउँमा पनि आत्मनिर्भर बन्न सकिन्छ, घरमै बसिरहनु भन्ने छैन ।’
