स्थानीय तहमा बैंकले अवसर खोज्न सकेनन् : उद्योगमन्त्री भण्डारी – Jaleshwortoday

स्थानीय तहमा बैंकले अवसर खोज्न सकेनन् : उद्योगमन्त्री भण्डारी

 January 3, 2025  

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १९ पौंष

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगे पनि सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबार बाहेक स्थानीय तहमा बैंकले अवसर खोज्न नसकेको बताएका छन् ।

सरकारी कारोबार र तलब भत्ताका लागि स्थानीय तहमा खाता सञ्चालन गर्नुलाई नै वित्तीय पहुँच भनिरहनु परेको उनको भनाइ छ ।

उनका अनुसार राज्यबाट निजी क्षेत्र र बैकिङ क्षेत्रले खोजेको नीतिगत सुधार हो । सरकारले हिजो बनाएका नीति आज बाधक भएको भन्दै मन्त्री भण्डारीले त्यसमा सुधार गर्नु पहिलो आवश्यकता भएको धारणा राखे । यसमा सरकारले महसुस गरेको उनको भनाइ छ ।

‘विदेशी लगानी किन आउन सकेको छैन ?,’ बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौं साधारणमा मन्त्री भण्डारीले प्रश्न गरे, ‘हिजो सहकारीको ऋण लगानी कहाँ कसरी भयो त्यसको नियमन सरकारले गर्न सकेन । त्यसको प्रभाव भयो । बैंक तथा वित्तीय संस्थामा पनि, त्यो अवस्था होला । हिजो चर्को ब्याज र उच्च मुनाफा कहाँ लगानी भयो ?’

नीतिगत सुधारका प्रश्नमा सरकार गम्भीर भएर लागेको उनले बताए ।