" >
अस्पताल संचालकले टेरेन मुख्यमन्त्रीको निर्देशन - Jaleshwortoday

अस्पताल संचालकले टेरेन मुख्यमन्त्रीको निर्देशन

 २७ माघ २०८१, आईतवार २१:४७  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २७ माघ

मुख्यमन्त्रीको निर्देशन अटेर गर्दै स्वीकृति बिना संचालित जनकपुरधामका निजी अस्पतालहरु आइतबार पनि खुला नै रहेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले गएको दुई दिनमा करिब २० वटा निजी अस्पतालमा अनुगमन गर्दै स्वीकृति नलिएका, नवीकरण नगराएका अस्पताल बन्द गरेर साँचो कार्यालयमा बुझाउन निर्देशन दिएका थिए ।

जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा नगरी जनकपुरधाममा संचालनमा रहेका निजी अस्पतालहरूलाई आइतबारसम्म आफैँले ताल्चा लगाउन अस्पताल सञ्चालकहरूलाई मुख्यमन्त्री सिँहले निर्देशन दिएका थिए ।

शनिबार मुख्यमन्त्री सिंहले टोली नै लिएर जनकपुरधाममा संचालित निजी अस्पतालमा एकपछि अर्को गरी करिब २० वटा यस्ता अस्पतालको अनुगमन गरेका छन् । अनुगमनको क्रममा स्वीकृति नवीकरण नगरिएको वा स्वीकृति नलिएको अस्पतालका संचालकलाई १२ घण्टाभित्र बन्द गरेर साँचोसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन निर्देशन दिएका थिए ।

अस्पताल संचालकहरुलाई सामूहिक रुपमा मुख्यमन्त्री सिंहले भेट्न नमानेपछि उनीहरु फर्केका छन् ।

आफूहरु भेट्नलाई मुख्यमन्त्री कार्यालय गएका थियौ, एक संचालकले भने–तर, मुख्यमन्त्रीज्यूले सामूहिक रुपमा भेट्न मान्नुभएन् । एक÷एक जना गरी भेट्न भनेपछि आफूहरु फर्केर आएको उनले भने । कागजात पूरा गरेपनि स्वीकृति नवीकरण गर्न नमानेका संचालकहरुले मुख्यमन्त्री सिंहसमक्ष गुनासो पोखेका छन् ।

जनकपुरधाममा लामो समयदेखि संचालनमा रहेका कयौ निजी अस्पतालले नवीकरणका लागि स्वास्थ्य मन्त्रालयमा कागजात बुझाएका छन् । कागजात बुझाएको महिनौ बितिसक्दा पनि नवीकरण गरिदिएको छैन, एक अर्का संचालकले भने–न त्रुटि बताएको छ ।

१५ शैय्याको निजी अस्पतालको स्वीकृति स्थानीय सरकारले दिने व्यवस्था छ भने सो भन्दा माथि ३ सय शैय्यासम्मको स्वीकृति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई दिने अधिकार छ । तर, १५ शैय्याको अस्पतालका लागि पालिकामा कागजात दिएको दुई वर्ष बितिसक्दा पनि स्वीकृति नपाएको अरमान अस्पतालका संचालक डा. जियाउल हकले गुनासो पोखे । अस्पताल स्वीकृतिको लागि कागजात लिएर कयौ पटक सम्बन्धित कार्यालयमा गइसकेपनि इजाजत पत्र पाउन नसकेको डा. हकले मुख्यमन्त्री सिंहसमक्ष गुनासो पोखे ।

मुख्यमन्त्री सिंहले अनुगमनको क्रममा निर्देशन दिएपछि अस्पताल बन्द गरिसकेको डा. हकले बताए । मुस्कान अस्पताल र बीएनसी नरसिंहहोम बन्द गरिएपनि अन्य सबै अस्पताल संचालनमै रहेको एक जना संचालकल भने ।

बिरामी नरहेको अस्पताल बन्द गर्न समस्या भएन, एक संचालकले भने–बिरामी संख्या बढी भएको अस्पताल बन्द गरिएको छैन् ।

स्वास्थ्य संस्थाको अनुगमन गर्नका लागि प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमा प्राविधिक समिति हुँदाहुँदै मुख्यमन्त्री सिंह आफै निजी अस्पतालको अनुगमन गरिरहेका छन् । मातहतका कर्मचारीलाई खटाएर कानूनी दायरामा नरहेका निजी अस्पताललाई कारबाही गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिनुपर्ने एक संचालकले भने । तर, आफै निजी अस्पतालहरुमा जानु उहाँको मिडिया स्टन्टबाजीबाहेक केही नरहेको ती संचालकले दावी गरे ।

अनुगमन गर्नुपर्छ, उनले भने– तर, कानूनी प्रक्रिया पूरा पनि गरिदिनुपर्छ । कानूनी प्रक्रिया पूरा गर्न आनाकानी गर्ने अनि अनुगमनको नाउँमा तर्साउन पाइन्छ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मापदण्ड योजना तथा जनसंख्या महाशाखाका प्रमुख संयोजक रहेको अनुगमन टोलीमा स्वास्थ्य सम्बन्धी प्रदेश परिषद्मध्येबाट मन्त्रालयले तोकेको एक जना महिलासहित दुई जना सदस्य, स्वास्थ्य निर्देशनालयको मेडिकल अधिकृत सदस्य, स्वास्थ्य निर्देशनालयका नरसिंह अधिकृत सदस्य र जनस्वास्थ्य अधिकृत सदस्य सचिव रहेको अनुगमन टोली रहेको छ ।

शुक्रबारदेखि शनिबारसम्म जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका करिब बीस वटा निजी अस्पतालमा अनुगमन गरिएको थियो ।

अवैध रुपमा संचालनमा रहेका निजी अस्पतालहरुले चर्को शुल्क लिएर स्तरहीन सेवा दिइरहेको छ ।

समूहमा भेटेर समाधान नहुने भएकाले एक÷एक जनालाई बोलाएको मुख्यमन्त्री सिंहले भने ।

नवीकरण नगराएका अस्पताललाई कागजात पूरा गरेर नवीकरण गराउनका लागि भनेका छ्न् ।

अस्पतालको लेबर रुममा जाँदा बिरामीको ज्यानै जाने अवस्था देखेको मुख्यमन्त्री सिंहले बताए । स्थानीय सरकारसित समन्वय गरेर अस्पताललाई स्वीकृतिको लागि पहल गरिदिने सिंहले बताए ।

आइतबार दिउँसोसम्म अनुगमन गरिएको मध्ये चार वटा अस्पताल बन्द गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाए ।