जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २४ चैत्र
श्री देवअंशी लहेरी समाज चौरासीद्वारा आइतबार कलश शोभा यात्रा निकालिएको छ ।
सो शोभा यात्रा श्री सत्यनारायण भगवानको प्रतिमा स्थापना भएको ७ औं वार्षिकोत्सवको अवसरमा निकालिएको थियो ।
सो शोभा यात्रामा विभिन्न ठाउँका लहेरी समाजका श्रद्धालु महिलाहरु विभिन्न रंगीचंगी पोशाकमा कलश तथा नारियलको साथमा जनकपुरधाम स्थित पवित्र गंगा सागरबाट जल भरी श्री सत्यनारायण भगवान मन्दिरमा पुगेका थिए ।
सो शोभा यात्रामा मधेस प्रदेशका ८ वटै जिल्लाहरु लगायत भारतबाट समेत लहेरी समाजको बाक्लो उपस्थिति रहेको थियो ।
मन्दिरमा विशेष पुजाआजा तथा माँगलिक अनुष्ठान गरी वार्षिकोत्सव मनाइएको थियो । यस कार्यमा नव अध्यक्ष श्याम सुन्दर साह तथा श्री देवअंशी लहेरी समाज कार्यसमितिको विशेष योगदान रहेको थियो । यस शोभा यात्रामा १ हजार ५ सय भन्दा बढी स्वजाति श्रद्धालुहरुको उपस्थिति रहेको थियो । यो शोभा यात्रा पवित्र स्थल जनकपुरधाममा मर्यादा पुरुषोत्तम श्री राम भगवानको जन्म दिनको अवसरसँग समेत मेल गरेर निकालिएकोले यसको विशेष आकर्षण देखिएको थियो । यस शोभा यात्रा तथा स्वजाति मिलन कार्यले समस्त लहेरी तथा लहेरा स्वजाति र नेपाल सरकारलाई सकारात्मक संदेश गएको बुद्धिजिवीहरुले बताएका छन् । यो जाति परापूर्व कालदेखि लाहको चुरा लहठीको कारोबार गरी आफ्नो जिविका चलाउदै आएको ईतिहास रहेको छ । समग्र हिन्दु राष्ट्रहरु नेपाल तथा भारतमा रहेका विबाहित महिला तथा पुरुषको दिर्घायुको कामना गर्ने हिन्दु लहेरी लहेरा स्वजाति वर्षाैदेखि पहिचान बिहीन तथा राज्यद्वारा उपेक्षित रहेको देखिन्छ । यस जातिलाई नेपाल सरकारले सूचिकृत समेत गर्न नपाएको दुखेको स्वजातिहरुले बताए । यो जाति नेपाल भरीमा अहिले पनि हजारौ संख्यामा छरिएर रहेको अल्पसंख्यक जाति हुन ।

