राम आधार भण्डारी अध्यक्ष पदमा निर्वाचित
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १५ जेष्ठ
नेपाल फूल माली समाज महोत्तरीको पहिलो जिल्ला अधिवेशन जलेश्वर नगरपालिका–२ जिल्ला सामान्य समितिको सभाहालमा भव्य रूपमा सम्पन्न भएको छ।
अधिवेशनमा सागर माली प्रमुख अतिथिका रूपमा सहभागी थिए भने कार्यक्रमको अध्यक्षता राम आधार भण्डारीले गर्नुभएको थियो।
अधिवेशनमा आफ्नो मन्तव्य राख्दै विशिष्ट अतिथि जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले माली समुदायको परिश्रमशीलता, उद्यमशीलता र सामाजिक योगदानको प्रशंसा गर्दै स्थानीय उत्पादन, व्यवसाय र रोजगारीमा समुदायको सक्रिय भूमिका अझ सशक्त बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे। उनले माली समुदायको आर्थिक सशक्तिकरणमा जनकपुरधाम उद्योग वाणिज्य संघको तर्फबाट पनि सहकार्यको सम्भावना रहेको उल्लेख गरे।
त्यसैगरी, मटिहानी नगर प्रमुख हरिप्रसाद मण्डलले आफ्नो मन्तव्यमा माली समुदायको समावेशी विकासको पक्षमा आफू दृढ रहेको बताउँदै, स्थानीय सरकारबाट आवश्यक सहयोग जारी रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा युवा वर्गको उल्लेखनीय उपस्थितिमा समाजको संगठनात्मक सुदृढीकरण, सामुदायिक अधिकार संरक्षण, सामाजिक न्याय र समावेशी सहभागिता सम्बन्धी विषयमा विशेष छलफल भएको थियो।
अधिवेशनले राम आधार भण्डारीलाई नेपाल फूल माली समाज महोत्तरीको प्रथम जिल्ला अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको घोषणा गरेको छ। नयाँ नेतृत्वले समाजको समग्र हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
नवगठित समितिले माली समुदायको सामाजिक, आर्थिक र शैक्षिक उत्थानका लागि विभिन्न कार्यक्रम अघि बढाउने बताइएको छ।
कार्यक्रममा विशेष अतिथिका रूपमा जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश शाह सोनार, मटिहानी नगरपालिका नगर प्रमुख हरिप्रसाद मण्डल, एकडारा गाउँपालिका अध्यक्ष दीप नारायण मण्डल, महोत्तरी गाउँपालिका अध्यक्ष दिलीप पाण्डे, साथै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, पत्रकार समेतको उपस्थिति रहेको थियो।
