जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १८ जेष्ठ
स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुको पैरबी तथा अन्तरक्रिया कार्यक्रम आइतबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ ।
स्वास्थ्य निर्देशनालयले आयोजना गरेको सो कार्यक्रममा संचारकर्मी र स्वास्थ्यकर्मीहरुबीच स्वास्थ्यसम्बन्धी सूचना आदानप्रदानको आवश्यक्ता औंल्याएको छ ।
आगामी दिनमा नियमित रुपमा संचारकर्मीहरुसित छलफल गरेर स्वास्थ्य सम्बन्धी गतिविधिबारे जानकारी गराउने निर्देशनालयका निर्देशक सरोजबहादुर न्यौपानेले बताए ।
आगामी आर्थिक वर्षदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारको लागि पुरस्कृत गरिने निर्देशक न्यौपानेले घोषणा गरे ।
मधेशमा खोपको अवस्था उत्साहजनक रहेको बताउँदै न्यौपानेले पर्सा पूर्ण खोप दीगोपना घोषणा भइसकेको छ भने अन्य घोषणाको तयारीमा रहेकाले खोपमा मधेश प्रदेश राम्रो अवस्थामा रहेको उनले थपे ।
अन्य क्षेत्रमा पनि सुधार गर्नका लागि मिडियाको सहयोग आवश्यक रहेकाले मधेश प्रदेशको स्वास्थ्य क्षेत्र सुधार गर्नमा सहयोगको लागि उनले सबैमा आग्रह पनि गरे ।
कार्यक्रममा शिवकुमार भट्टराई, अनिल कुमार कर्ण, अजित तिवारी र संचारिका समूहका उपाध्यक्ष बसन्ती बास्तोलाले सहभागीहरुलाई स्वास्थ्य सम्बन्धी समाचार संकलन गर्दा अपनाउनुपर्ने सतर्कताबारे जानकारी गराएका थिए ।
एक दिने सो पैरबी तथा अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका आठै जिल्लाका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
