जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २२ जेष्ठ
नेपाली कांगे्रसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले संगको सहकार्य र गठबन्धन २०८४ सम्मै चल्ने दावी गरेका छन् । धनुषाधाम नगरपालिका वडा नं.१ स्थित शहिद ठाकुर प्रसाद ढुंगानाको ६२औ स्मृतीसभालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनबारे प्रष्टयाएका हुन् ।
धनुषाधाम–१ मा बिहीिबार आयोजित स्मृतिसभामा सभापति देउवाले शहीद ठाकुर प्रसाद ढुंगानाको सालिक अनावरण र उनको जिवनी लेखिएको पुस्तक पनि विमोचन गरेका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धनमा खटपट रहेको खबर बाहिरिदै गर्दा सभापति देउवाले गठबन्धन आगामी चुनावसम्मै रह्ने प्रष्ट पारेका हुन् । सभापति देउवाले राजावादीहरुको आन्दोलन तुहिइसकेको बताउँदै ‘आन्दोलन छदै छ र ?’ भन्ने प्रश्न गरे । देउवाले गृहमन्त्री रमेश लेखकको राजीनामाको मांग बेतुकको रहेको बताए । सरकार नेता र कार्यकर्ताले नभएर जनताले चाहेको खण्डमा मात्र बन्ने हो, उनले थपे ।
नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवम् संसदीय दलका नेता कृष्ण प्रसाद यादवको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका स्व. नेता ठाकुर प्रसाद ढुङ्गाना (राष्ट्रियसभा सदस्य आनन्द प्रसाद ढुङ्गानाका पिता) को योगदान सम्झिदै उनले प्रजातन्त्रका लागि संघर्ष गर्ने पार्टी कांग्रेस रहेको बताए ।
पञ्चायत कालमा लोकतन्त्रको लागि संघर्षको क्रममा कांगे्रसी नेताहरुले ज्यानको आहुति दिएकाले आज मुलुकमा प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनले बताए ।
उनीहरुले देखाएको मार्गमा अघि बढ्न उनले सबैमा आग्रह समेत गरे । सो अवसरमा पूर्वगृहमन्त्रीद्वय कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, पार्टीका सहमहामन्त्री महेन्द्र यादव, राष्ट्रियसभा सदस्य आनन्द प्रसाद ढुंगाना, फर्मुला मंसुर, रमेश रिजाल लगायतले मन्तव्य राखेका थिए ।
