बुवाको सम्पत्ति जालसाजी गरेको विरोध गर्दा कुटपिट, प्रहरीमा जाहेरी दर्ता गर्न अस्वीकृति – Jaleshwortoday

बुवाको सम्पत्ति जालसाजी गरेको विरोध गर्दा कुटपिट, प्रहरीमा जाहेरी दर्ता गर्न अस्वीकृति

 June 7, 2025  
f8babecd-77cc-41cf-ab4f-d82ce5235480

ओम प्रकाश साह
जनकपुरधाम, जेष्ठ २३ गते
बुवाको सम्पत्ति जालसाजी गरी वकस पत्र गराएको विरोध जनाउँदा आफ्नै माइलो भिनाजु बाट कुटपिटमा परेकी एक महिलाले जिल्ला प्रहरी कार्यालय धनुषाले जाहेरी दर्ता गर्न नमानेको गुनासो गरेकी छन्।

जनकपुरधाम उपमहानगरपालिका–१७ की स्थायी बासिन्दा तथा हाल वडा नं. २३ बिन्दी टोलमा बसोबास गर्दै आएकी पीडित राजवती कुमारीले आफूमाथि सरोज ठाकुर बरहीले लाठी प्रहार गरी बाँया हातको नाडी भाँचिदिएको आरोप लगाएकी हुन्। कुटपिटबाट हातको औंला समेत भाँचिएको र अब आफू सिलाइ–कटाइको काम गर्न नसक्ने अवस्थामा पुगेको उनले बताइन्।

राजवतीका अनुसार सरोज ठाकुर उनका माइलो भिनाजु हुन्। उनले पीडितका बुवाको नाममा रहेको बिन्दी गाउँपालिका–७ स्थित जग्गा जालसाजी गर्दै आफ्नी श्रीमती सोनावती कुमारीको नाममा वकसपत्र गराएको आरोप पनि लगाएकी छन्। उक्त सम्पत्तिमा राजवती र उनकी दिदी पार्वती कुमारीको समेत हक रहेको भन्दै उनीहरूले धनुषा जिल्ला अदालतमा वकसपत्र बदरको मुद्दा दायर गरिसकेका छन्।

* प्रहरीले जाहेरी लिन मानेन, मिलापत्रको दबाव

पीडित राजवतीका अनुसार, उनले २०८२ साल जेठ १ गते घटेको घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराउन पटक–पटक प्रयास गर्दा पनि प्रहरीले जाहेरी नदिई उल्टै ‘आफ्नै घरको झगडा हो’ भन्दै मिलापत्र गर्न दबाव दिएको छ।

“म जाहेरी दर्ता गर्न बारम्बार गएँ, तर प्रहरीले जाहेरी नलिई मिलापत्र गर भन्ने मात्रै भन्यो।” राजवतीले पत्रकार सम्मेलनमार्फत भनिन्, “मेरै बाबुको सम्पत्ति जालसाजी गर्दा प्रतिकार गर्दा मेरो हात भाँचिएको छ, तर अझै पीडकको कारबाही छैन।”

* गम्भीर चोट, इमर्जेन्सी उपचारको प्रमाण

उनले जनकपुर अस्पतालमा उपचार गराएकी थिइन्। मेडिकल रिपोर्टअनुसार उनको हात भाँचिएको पुष्टि गरिएको छ। प्रहरीसमक्ष पेश गरिएको मेडिकल प्रमाण सहितको जाहेरी पनि स्वीकार नगर्नु प्रहरी प्रशासनको मिलेमतो भएको उनको आरोप छ।

* न्यायको माग

राजवतीले आफूमाथि कुटपिट गर्ने सरोज ठाकुरलाई तत्काल कानुनी कारबाही गर्न, वकसपत्र बदर गर्न सहयोग गर्न र आफूलाई न्याय दिन राज्यका सबै निकायलाई आग्रह गरेकी छन्।