आरजे ईर्शाद शेख
महोत्तरी, २८ जेष्ठ
Support नेपालको आयोजना र KURVE Wustrow को सहयोगमा मटिहानी नगरपालिकाको टोल विकास संस्था कार्यविधि तथा नागरिक सहायता कक्ष निर्देशिका पारित गर्ने सम्बन्धी एक दिवसीय छलफल कार्यक्रम जनकपुरधामको होटल वेलकममा सम्पन्न भएको छ।
छलफलको उद्देश्य नगरपालिकाभित्र टोल विकास संस्थालाई संस्थागत रूपमा सबल बनाउने र नागरिक सहायता कक्षमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने रहेको थियो। कार्यक्रममा प्रस्तुत कार्यविधि र निर्देशिकामाथि सहभागीहरूले विभिन्न सुझाव र सिफारिसहरू दिएका थिए।
प्रमुख प्रशासकीय अधिकृत शर्माले टोल विकास संस्था र नागरिक सहायता कक्ष स्थानीय शासन सुदृढीकरणको मेरुदण्ड भएको उल्लेख गर्दै स्थानीय स्तरमै सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्ता कार्यविधिहरू आवश्यक भएको बताए। योजना अधिकृत यादवले सहभागीहरूबाट प्राप्त सुझावहरूलाई समेटी निर्देशिकालाई अझ प्रभावकारी बनाइने जानकारी दिए।
Support नेपालका प्रतिनिधिहरूले सहभागीहरूको सक्रियताप्रति आभार व्यक्त गर्दै स्थानीय तहमा पारदर्शी र सहभागी शासनको प्रवर्द्धनमा यस्ता पहलले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, योजना अधिकृत चन्देश्वर यादव, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य हरू, नगरपालिका का कर्मचारी, तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
