आरजे ईर्शाद शेख
महोत्तरी, ३० जेष्ठ
पिपरा गाउँपालिकाको आयोजनामा सुरु भएको “T20 शहीद कप प्रतियोगिता २०८२” को उद्घाटन आज भव्य समारोहका बीच सम्पन्न भएको छ। प्रतियोगिता पिपरा स्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ।
प्रतियोगिताको उद्घाटन खेल जनकपुर एकेडेमी र सत्यम कोचिङ्ग सेन्टरबीच भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर एकेडेमीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २३९ रन बनायो। टोलीका तर्फबाट मयन यादवले ३२ बलमा विस्फोटक ८५ रनको योगदान दिए, जसमा ११ छक्का र ३ चौका समावेश थिए। उनको आक्रामक प्रदर्शनले दर्शकहरूलाई रोमाञ्चित बनायो र उनलाई “म्यान अफ द म्याच” घोषित गरियो।
२४० रनको विशाल लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको सत्यम कोचिङ्ग सेन्टरको टोली ११८ रनमै समेटिँदै पराजित भयो।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष राम जानकी यादव, शिक्षा शाखा प्रमुख श्रवण कुमार यादव, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, शिक्षक, सुरक्षाकर्मी तथा स्थानीय समाजसेवीहरूको उपस्थिति थियो।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य युवाहरूलाई खेलकुदमार्फत अनुशासन र सकारात्मक मार्गमा डोऱ्याउनु रहेको छ।

