" >
कथक र मैथिली लोक नृत्यमा बालबालिकाको आकर्षण - Jaleshwortoday

कथक र मैथिली लोक नृत्यमा बालबालिकाको आकर्षण

 १२ असार २०८२, बिहीबार १८:५९  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १२ आषाढ

बालबालिकालाई कथक र मैथिली लोक नृत्य सम्बन्धि प्रशिक्षण दिने उद्येश्यले आयोजित १० दिवसीय कार्यशाला प्रयास–२ बिहीबार सम्पन्न भएको छ ।
ज्ञानगंगा इन्टरनेशनल पब्लिक स्कुल, जनकपुरधाम–१२, कुवाले आयोजना गरेको सो कथक र मैथिली लोक नृत्य कार्यशालामा विभिन्न तीन विद्यालयका करिब ६० जना बालबालिका भाग लिएका छन् ।
आयोजक ज्ञानगंगा इन्टरनेशनल पब्लिक स्कुलसहित ज्ञानकूप नमूना उमावि र जनकपुरधामका बालबालिकाहरु कार्यशालामा सहभागी भएका थिए ।
ज्ञानगंगा इन्टरनेशनल पब्लिक स्कुलका प्रिन्सिपल प्रा. पवनकुमार साहको अध्यक्षतामा बिहीबार आयोजित समापन समारोहमा बालबालिकाहरुले प्रस्तुत गरेको कथक र मैथिली लोक नृत्यमा प्रशंसा पाएका थिए ।
मैथिली विकाष कोषका अध्यक्ष जीवनाथ चौधरीको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा दश दिवसीय कथक र मैथिली लोक नृत्य कार्यशालामा सहभागी बालबालिकालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
बालबालिकालाई प्रशंसा पत्र प्रदान गर्दै कोषका अध्यक्ष चौधरीले यस प्रकारको आयोजनाले बालबालिकामा रहेका कला प्रष्फुटन हुने गरेको बताए । बालबालिकाहरुले गरेको प्रदर्शनले १० दिने कार्यशाला प्रभावकारी र लाभकारी साबित भएको छ, चौधरीले भने–बालबालिकालाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउनुपर्छ । यस प्रकारको क्रियाकलापले बालबालिका भित्र रहेको क्षमता र कला उजागर गर्न सहयोग पुग्ने गरेको धारणा उनको थियो ।
अध्यक्ष चौधरीसहित समापन समारोहमा उपस्थित अतिथिहरुले बालबालिकालाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
कार्यशालामा भाग लिएका बालबालिकाहरुले गोसावनी गीत, गुरु वन्दना, झरि, रामजी से पुछे र फुल लोढी जस्ता गीतमा कथक नृत्य प्रस्तुत गरेर समापन समारोहलाई मनोरञ्जनमय बनाएका थिए । उनीहरुको थोरै दिनको सिकाई उपलब्धी कथक र मैथिली लोक नृत्य प्रदर्शनमा देखिएको थियो ।
ज्ञानगंगा इन्टरनेशनल पब्लिक स्कुलले गत वर्ष पनि कथक र मैथिली लोक नृत्य कार्यशाला आयोजना गरेर बालबालिकाका लागि अवसर प्रदान गरेको थियो । आगामी दिनमा पनि यस प्रकारको अतिरिक्त क्रियाकलापहरु आयोजना गरिने ज्ञानगंगा इन्टरनेशनल पब्लिक स्कुलका प्रिन्सिपल प्रा. साहले जानकारी दिए ।
सो अवसरमा कथक गुरु ह्देव राय, मधेश प्याब्सनका केन्द्रीय अध्यक्ष अमरेन्द्र कुमार झा, मधेश प्रदेश संयोजक मुरारीलाल कर्ण, धनुषा जिल्ला अध्यक्ष सुजित मिश्र, जनकपुरधाम नगर अध्यक्ष प्रभाष मिश्र लगायत शिक्षक, अभिभावक, छात्रछात्राहरुको उपस्थिति रहेको थियो ।