आरजे ईर्शाद शेख
महोत्तरी, ३२ आषाढ
मधेश प्रदेश सरकारले यस क्षेत्रलाई सुख्खा प्रभावित घोषणा गरेपछि खानेपानी र सिँचाइ संकट समाधानका लागि आह्वान गरिएको थियो। त्यसको प्रतिक्रिया स्वरूप वर्ल्ड भिजन इन्टरनेशनल नेपालले आफ्नो साझेदार संस्थामार्फत मधेशका विभिन्न जिल्लामा साना सिँचाइ तथा खानेपानीका परियोजनाहरू तीव्र रूपमा अघि बढाएको छ।
विपन्न वर्गका कृषकहरूलाई लक्षित गर्दै वर्ल्ड भिजनले महोत्तरीको एकडारा गाउँपालिकामा १८ घरधुरी र सम्सी गाउँपालिकामा ३२ घरधुरीमा साना सिँचाइ योजना लागू गरेको छ। यस योजनाले कृषकलाई सिँचाइको पहुँच सहज गराउने र कृषि उत्पादनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
त्यस्तै, स्थानीय साझेदार संस्था राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र, सर्लाही र ग्रामीण विकास केन्द्र, रौतहटको सहकार्यमा सर्लाहीको हरिपुर्वा नगरपालिकामा ५० घरधुरी र रौतहटको माधवनारायण नगरपालिकामा ४७ घरधुरीमा सिँचाइ सहयोग कार्य सम्पन्न भइसकेको वर्ल्ड भिजन मधेश प्रदेश प्रमुख विनय अमात्यले जानकारी दिनुभयो।
खानेपानीको क्षेत्रमा समेत उल्लेखनीय काम भएको उहाँको भनाइ छ। वर्ल्ड भिजनले हालसम्म सर्लाहीको हरिपुर्वामा ९३ घरधुरी, पर्सामा ४२, महोत्तरीको एकडारामा ५५ र सम्सी गाउँपालिकामा ३१४ वटा चापाकल जडान गरिसकेको छ।
“खानेपानीको तत्काल आवश्यकता भएका ठाउँहरूमा स्थानीय तहसँग समन्वय गरी सेवा पु-याउने काम भइरहेको छ,” अमात्यले भन्नुभयो, “स्थानीय सरकारसँग सहकार्यमा तत्काल तथा दीर्घकालीन समाधानका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएका छौं। आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम अघि बढाइनेछ।”
प्रदेश सरकारको सूख्खा प्रभावित घोषणापछि अन्तर्राष्ट्रिय सहयोगमा आएको सक्रियताले ग्रामीण क्षेत्रमा राहत महसुस भएको जनाइएको छ।
