महोत्तरीका ३ स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना – Jaleshwortoday

महोत्तरीका ३ स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना

 September 30, 2021  
Mahottari

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १४ असोज
महोत्तरीका तीन स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहायता कक्ष स्थापना गरिएको हो । सार्वजनिक यातायातका साधनहरूमा भिडभाड हुने र यात्रु ठगिन वा अन्य समस्यामा पर्न सक्ने भन्दै महोत्तरीको बर्दिवास, गौशाला र जलेश्वरमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । बिहीबार जलेश्वर बसपार्कस्थित सहायता कक्षको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले उद्घाटन गरेका हुन् । उनले चाडवाडका वेला क्षमताभन्दा बढी यात्रु राख्ने, भिडभाडमा सामान छुट्ने, बढी भाडा लिने, चालकले मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउँदा हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्न सहायता कक्षले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । हाल एक ट्राफिक प्रहरी र एक जनपद प्रहरी रहने व्यवस्था गरिएको उक्त सहायता कक्षले यात्रु तथा सवारी चालक दल समेतको गुनासाहरू सुन्ने र समाधानका लागि प्रयास गर्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए । उनले चाडवाडको समय विभिन्न समस्याहरू आउने गरेकोमा उक्त डेस्क स्थापनापछि पीडितलाई अन्यत्र गएर गुनासो पोख्न आवश्यक नरहेको र सहायता कक्षबाटै समस्या समाधानको प्रयास गरिने बताए ।