जलेश्वरको ३६ बिघा मणिपालको जग्गामा ठूलो परियोजनाको बन्दोबस्त मिलाउछु ः प्रचण्ड – Jaleshwortoday

जलेश्वरको ३६ बिघा मणिपालको जग्गामा ठूलो परियोजनाको बन्दोबस्त मिलाउछु ः प्रचण्ड

 November 17, 2021  
Jaleshwor

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १ मंसिर
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरीको सदरमुकाम जलेश्वरमा वर्षौंदेखि खाली रहेको मणिपाल कलेजले खालीपर्ति छोडेको जग्गामा चाडै नै ठूलो परियोजनाको बन्दोबस्त मिलाउने बताएका छन् । आज रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा जाने क्रममा जलेश्वर–वर्दिवास सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–१ स्थित मणिपाल कलेजको जग्गा नजिकै स्थानीयले प्रचण्डलाई केहि बेर रोकेर वर्षौंदेखि किसानको उब्जाउ जग्गा ओगटेर मणिपाल कलेजले त्यसै उब्जाउ जमिनलाई बञ्जर बनाइरहेकामा दुःखेसो पोखेका थिए । तीस वर्षअघि जलेश्वरभित्र पर्ने बजराही, रतवारा, बखरी सहितका स्थानीयको राम्रो अन्न उत्पादन हुने करोडौँ मूल्यको ३६ बिघा बढी जग्गा किसानले मणिपाललाई इन्जिनियरिङ कलेज निर्माणका लागि दिएका थिए । सो वापत प्रत्येक किसानको घरका एक जनालाई निःशुल्क इन्जिनियरिङ शिक्षा पढाउने सर्तमा मणिपालले किसानहरुको जग्गा मात्र रु १० हजार प्रतिकट्ठाका दरले खरिद गरेका थिए । किसानको दुःखेसो सुनेर प्रचण्डले किसानहरुलाई भने, ‘तपाईहरुको गुनासो सहित हो, तपाईहरु नआत्तिनोस्, चाँडै यस जग्गाभित्र नेपाल सरकारको ठूलो परियोजना स्थापना हुने छ।’ प्रचण्डले किसानहरुलाई दिएको यस आश्वासन पछि पुनः रामगोपालपुरको जनसभालाई सम्बोधन गर्दा पनि मणिपालले ओगेटेको जग्गामा आफ्नो पहलमा कुनै ठूलो स्वास्थ्य प्रतिष्ठान, इन्जिनियरिंग कलेज वा कुनै ठूलो आयोजना निर्माणको लागि पहल गर्ने बताए । उनले गठबन्धनको सरकारमा आफ्नो पनि ठूलो हैसियत रहेकोले यताबाट फर्किने बित्तिकै यसबारे तयारी थाल्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।