शहीद नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह सम्पन्न – Jaleshwortoday

शहीद नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह सम्पन्न

 June 10, 2026  
2

दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम २७ जेष्ठ

शहीद नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत स्वास्थ्य शाखा यदुकुहाको आयोजनामा बुधबार नगरपालिकाको प्रांगणमा आयोजित समारोहमार्फत नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

समारोहमा नगर क्षेत्रभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत प्राप्त गर्नुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गर्दै औपचारिक घोषणा गरिएको बताइएको छ। वक्ताहरूले पूर्ण खोप सुनिश्चितता हासिल गर्न तथा त्यसको दिगोपना कायम राख्न स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको सक्रिय भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

उपस्थित वक्ताहरूले खोपले बालबालिकालाई विभिन्न संक्रामक तथा ज्यान जोखिममा पार्ने रोगबाट सुरक्षित राख्ने भएकाले नियमित खोप थ थ थ सेवामा सबै अभिभावकको पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले पूर्ण खोप सुनिश्चितता घोषणा केवल उपलब्धि मात्र नभई यसको निरन्तरता कायम राख्न नियमित अनुगमन, घरधुरी सर्वेक्षण तथा छुटेका बालबालिकाको पहिचान गरी खोप सेवामा समेट्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमको सञ्चालन राम सिकिल यादवले गरेका थिए। कार्यक्रममा उपप्रमुख सुनीता सिंह, शिक्षा शाखा प्रमुख प्रदीप मुखिया, प्रशासनिक अधिकृत अनिल झालगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

शहीद नगरपालिकाका प्रमुख दिनेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले पूर्ण खोप सुनिश्चितता तथाब दिगोपनाको अवस्था आगामी दिनमा पनि निरन्तर कायम राख्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।