आरजे इर्शाद शेख
महोत्तरी, १८ भदौं
वल्र्ड भिजन इन्टरनेशनल नेपाल र दलित समाज उत्थान समिति नेपालको साझेदारीमा सञ्चालित समुदाय संलग्नता तथा बाल स्पोन्सरशिप कार्यक्रम अन्तर्गत एकडारा गाउँपालिकामा बाल अधिकार र प्रगतिको स्थिति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जसवाल प्रमुख अतिथि रहेका थिए भने राष्ट्रिय बाल अधिकार परिषद् (एनसीआरसी) का उपाध्यक्ष श्री बम्बानिया विशेष अतिथि रहेका थिए। कार्यक्रममा पालिकास्तरीय प्रतिनिधिहरूसँग बाल अधिकारको वर्तमान अवस्था, चुनौती तथा सम्भावनाबारे गहिरो छलफल गरिएको थियो।
गाउँपालिकाको सक्रिय सहभागिता
कार्यक्रममा गाउँपालिका अध्यक्ष दीप नारायण मण्डल र उपाध्यक्ष महजबी खातुन सहित विभिन्न शाखा प्रमुखहरू, वडा अध्यक्ष तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साथै बाल क्लबका प्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, प्रहरी, धार्मिक अगुवा, पत्रकार, लगायत स्थानीय सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
संस्थागत प्रतिनिधिहरूको योगदान
वल्र्ड भिजन इन्टरनेशनल नेपालका तर्फबाट प्रमिल अधिकारी र दिलीप यादव सहभागी थिए भने दलित समाज उत्थान समिति नेपालका अध्यक्ष डेजी पाण्डे, कार्यक्रम संयोजक उतिम चन्द्र चौधरी, साथै Social Mobilizers माधेवेन्द्र ठाकुर लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमले बाल अधिकार सम्बन्धी नीति, अभ्यास, स्थानीय तहमा अवलम्बन गर्नुपर्ने रणनीति र साझेदारीको महत्वमाथि गहन संवाद र समझदारी निर्माण गर्न मद्दत गरेको आयोजक पक्षले जनाएको छ।
