जलेश्वर सहित मिथिलामा सोमबारदेखि सुरु भयो प्रतिमा पूजन,जनकपुरको राजदेवीमा प्रसाद चढाउँन शुरु – Jaleshwortoday

जलेश्वर सहित मिथिलामा सोमबारदेखि सुरु भयो प्रतिमा पूजन,जनकपुरको राजदेवीमा प्रसाद चढाउँन शुरु

 September 30, 2025  
1

आरजे इर्शाद शेख
महोत्तरी, १३ असोज

बडा दसैँको सप्तमीका दिन माता दुर्गा भवानीको प्रतिमा अनावरण गरिएपछि महोत्तरी सहित सम्पूर्ण मिथिलामा आजदेखि दुर्गा भवानीको प्रतिमा पूजन सुरु भएको छ भने जनकपुरधामको माता राजदेवी मन्दिरमा सोमबार राति १२ बजेदेखि प्रसाद चढाउँन शुरु भएको छ ।
महोत्तरी लगायत तराई मधेसको प्रत्येक जिल्ला तथा गाउँठाउँमा दुर्गा प्रतिमा बनाइएको मन्दिरहरूमा अहिले माता दुर्गा भवानीको प्रतिमा पूजनका लागि श्रद्धालु भक्तजनको घुँइचो लागेको छ ।
आ–आफ्ना गच्छेअनुसार शृङ्गारका सबै वस्तु, लत्ताकपडा, आभूषण, फलफूल, मिठाई, नरिवल, पान, सुपारी लगायत वस्तुहरूका साथ महिला, पुरुषहरू अहिले दुर्गा मन्दिरहरूमा लामबद्ध भएर माता भवानीका पूजाअर्चना गरिन्छ । बडा दसैँको बेला माता दुर्गा भवानीको प्रतिमाको पूजाअर्चना गरेमा घरपरिवारमा खुसियाली रहने, सुख, शान्ति, समृद्धि प्राप्त हुने विश्वास रहेको जलेश्वर–२ का भक्तजन सुदिश साहले बताए ।
उनका अनुसार बडा दसैँमा मिथिला क्षेत्रमा माता दुर्गा भवानीको प्रतिमाको पूजाअर्चनाको विशेष महत्व रहेका कारण यस मिथिला क्षेत्रका प्रत्येक घरका महिला, पुरुषसहित अन्य सदस्यहरू पनि अनिवार्य रुपमा दुर्गा भवानीको पूजाअर्चना गर्ने गर्दछन् ।
मिथिला क्षेत्रमा दुर्गा भवानीको प्रतिमा पूजाअर्चना गर्नाले दुःखीले दुःखबाट मुक्ति पाउने, निःसन्तानले सन्तान पाउने, अभागीले भाग्य पाउने, गरिब धनवान् हुने जस्ता मान्यता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताए । भाकल अनुसार जनकपुरधामको माता राजदेवीमा मंगलबार साँझ बोकाको बलिप्रदान गरिने छ ।