" >
राष्ट्रिय युवा खबरदारी समूह गठन : सरकारको जवाफदेहिताका लागि युवाहरूको सशक्त एकता - Jaleshwortoday

राष्ट्रिय युवा खबरदारी समूह गठन : सरकारको जवाफदेहिताका लागि युवाहरूको सशक्त एकता

 २० आश्विन २०८२, सोमबार २२:४१  
NVYG POSTER MEDIA

जलेश्वरटुडे समाचारदाता

काठमाडौं, २० असोज

देशमा सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नका लागि विभिन्न क्षेत्रका बौद्धिक युवाहरूको सहभागितामा “राष्ट्रिय युवा खबरदारी समूह (National Youth Vigilance Group)” गठन गरिएको छ। सरकारका नीतिगत र कार्यगत क्रियाकलापहरूलाई नजिकबाट निगरानी गर्ने, समसामयिक विषयहरूमा तार्किक छलफल गरी समाधान खोज्ने तथा देशमा आइपर्ने विपत्तिहरूमा सक्रिय सहयोग पुर्‍याउने उद्देश्य समूहले लिएको छ।

यस समूहमा शैलेन्द्र कुमार ठाकुर, इन्जिनियर शिवांग दत्त, मन्दीप कुमार लाभ, महेश यादव, निरज सिंह, ब्राजित कर्ण, शिल्पी गुप्ता, गुड्डी यादव, रवि झा, सुजाता प्रसाद यादव र नितेश केशरीलगायत देशका विभिन्न क्षेत्रका युवाहरूको प्रतिनिधित्व रहेको छ। समितिको प्रवक्ताको जिम्मेवारी इन्जिनियर शिवांग दत्तलाई प्रदान गरिएको छ।

प्रवक्ता दत्तका अनुसार, “यो समिति ले विभाजन भएका जेन-जीहरूलाई समेत एक ठाउँमा ल्याउन समन्वयकारी भूमिका खेल्ने प्रयास गर्नेछ। सरकारसँग निरन्तर सम्पर्कमा रही, सरकारका कामकारवाहीहरूमा सहयोग र ध्यानाकर्षण गराउनेछ। साथै, जनता र सरकारबीचको पहुँच सहज र प्रभावकारी बनाउन समूहले पुलको भूमिका खेल्नेछ,” उनले भने।

समूहले हालै सम्पन्न जेन-जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारसँग सहकार्य गर्दै विभिन्न मन्त्रालयहरूको कार्यान्वयन प्रभावकारिता र जवाफदेहितामाथि ध्यान केन्द्रित गर्ने तयारी गरेको छ। यसका साथै, आगामी निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र समावेशी बनाउने सन्देशसमेत समूहले दिएको छ।

राष्ट्रिय युवा खबरदारी समूहले देशभरका युवाहरूलाई एकताबद्ध गर्दै जिम्मेवार नागरिकका रूपमा सचेत, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणमा सक्रिय योगदान पुर्‍याउने प्रतिवद्धता जनाएको छ।