आरजे इर्शाद शेख
महोत्तरी, २० कार्तिक
भारतको बिहार राज्यमा आगामी ११ नोभेम्बर २०२५ (मिति २०८२ कार्तिक २५ गते) मंगलबारका दिन हुने दोस्रो चरणको विधानसभा निर्वाचनका कारण नेपाल–भारत सीमावर्ती नाका अस्थायी रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको सूचनाअनुसार, मिति २०८२ कार्तिक २२ गते साँझ ६:०० बजेदेखि कार्तिक २५ गते साँझ ६:०० बजेसम्म सीमाबाट हुने आवागमन पूर्ण रूपमा रोक लगाइनेछ।
प्रशासनका अनुसार यस अवधिमा मानवीय वा आकस्मिक सेवाका बाहेक अन्य सबै प्रकारका आवागमनमा रोक लाग्नेछ।
भारतको बिहारमा हुने निर्वाचनका बेला शान्ति सुरक्षा व्यवस्थालाई सुदृढ पार्ने उद्देश्यले सीमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले सर्वसाधारण नागरिकहरूलाई सीमा क्षेत्रमा अनावश्यक आवागमन नगरी सहयोग गर्न आग्रह गरेको छ।
