आरजे इर्शाद शेख
महोत्तरी, ८ मंसिर

मटिहानी नगरपालिका–७ स्थित मटिहानी रंगशालामा मटिहानी क्रिकेट टिमद्वारा आयोजना गरिएको मटिहानी प्रिमियर लिग (एमपीएल) सिजन–१, २०८२ भव्य तथा आकर्षक समारोहका साथ सम्पन्न भएको छ। महोत्तरी र धनुषा जिल्लाका १६ टोलीको सहभागितामा सम्पन्न प्रतिस्पर्धाले जिल्लामा पहिलोपटक फ्रेन्चाइज शैलीको क्रिकेट लिग सुरु भएको ऐतिहासिक क्षणको अनुभूति गराएको स्थानीयहरूले बताएका छन्।

प्रतियोगिताको फाइनलमा जनकपुर उप–महानगरपालिका–१७ कनकपट्टी र औरही गाउँपालिका–३ विक्रमपुर (धनुषा)बीच रोचक प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रदर्शनका साथ खेलमा पूर्ण रूपमा दबाब कायम राख्न सफल जनकपुर–१७ कनकपट्टीले १०३ रनको विशाल अन्तरले विजयी हुँदै एमपीएल सिजन–१ को उपाधि हात पारेको छ ।

समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि मटिहानी नगर प्रमुख हरि प्रसाद मण्डलले विजेता टोलीलाई ट्रफी, नगद पुरस्कार तथा मेडल प्रदान गरे। उप–विजेता टोलीका खेलाडी र उत्कृष्ट प्रदर्शनकर्ता अंपायर, कमेन्टेटर तथा प्रतियोगिता सफल बनाउन योगदान गर्ने व्यक्तिहरूलाई पनि टिका तथा मेडलले सम्मान गरिएको थियो।

कार्यक्रममा लोसपा नेपालका नगर अध्यक्ष श्याम कुमार मण्डल तथा नेपाली कांग्रेसका नेता बैजनाथ मण्डलले उप–विजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए।

आयोजक मटिहानी क्रिकेट टिमले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्णपक्षप्रति आभार प्रकट गरे।

•फाइनल खेलमा ६ विकेट हात पारेका आसफाक आलम म्यान अफ द म्याच भए त्यस्तै प्रतियोगितामा १० विकेट लिएका नितेश यादव बेस्ट बलर, प्रतियोगितामा १४३ रन बनाएका पंकज बेस्ट ब्याट्सम्यान, बेस्ट फिल्डर नितेश यादव र – ९ विकेट र ८४ रन बनाएका आसफाक आलम प्लेयर अफ द सिरिज घोषित भएका थिए ।

