आरजे इर्शाद शेख
जनकपुरधाम, २१ मंसिर

मधेश प्रदेशको जनकपुरधामस्थित होटल वेलकममा ‘सशक्तिकरण : विश्वास, निर्माण र टिमवर्क’ विषयलाई केन्द्रीय बनाएर आयोजित कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
समुदायमा शान्ति, सहकार्य र समावेशी सहभागिता बढाउँदै दीगो सामाजिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले सपोर्ट नेपालले आयोजना गरेको उक्त कार्यक्रम KURVE Wustrow को सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा समुदायका प्रतिनिधि, युवा, महिला समूहका सदस्य तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको आयोजकले जानकारी दिएका छन्। सहभागीहरूलाई विश्वास निर्माणका उपाय, समूहगत समन्वय, सहकार्य र टिमवर्कका आधुनिक विधिबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका प्रशिक्षकहरूले समुदायमा देखा परेका चुनौती, वैमनस्यता न्युनिकरण तथा दिगो शान्ति स्थापनाका लागि आवश्यक रणनीतिबारे विस्तृत रूपमा प्रस्तुति दिए। सहभागीहरूले कार्यशालाले समुदायमै सकारात्मक परिवर्तन ल्याउन प्रेरणा प्रदान गरेको प्रतिक्रिया व्यक्त गरेका छन्।
सपोर्ट नेपालका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिनेछ, जसले स्थानीयस्तरमा शान्ति, सहकार्य र समावेशी सहभागितालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मंडल, उपमेयर मंजु साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मालगायत विभिन्न वडाध्यक्ष—मोहम्मद नाजिर मिया, रउफ राइन, कलीम अंसारी, शिव शंकर राय, अब्दुल गफ्फार, मदन चौधरी र रितेश मण्डल उपस्थित थिए।
त्यसैगरी शिक्षा शाखा प्रमुख श्रीश मिश्रा, राम जीवन, सपोर्ट नेपालकी अध्यक्ष रोशना खड्का, उपाध्यक्ष सुनील मल्लिक, महोत्तरी जिल्ला संयोजक प्रकाश ठाकुर, धनुषा जिल्ला संयोजक शत्रुध्न महतो, कार्यकारिणी सदस्य गंगा प्रसाद साह,सरस्वती शेर्पा र मटिहानी नगरपालिकाका राम जानकी, बजार टोल विकास संस्थाका पदाधिकारी तथा नागरिक सहायता कक्षका अनसू कुमार साह , रेडियो श्रोता क्लबका पदाधिकारी समेतको सहभागिता रहेको थियो।
