" >
पिपरा–३ बालविवाहमुक्त वडा घोषणा सभा सम्पन्न - Jaleshwortoday

पिपरा–३ बालविवाहमुक्त वडा घोषणा सभा सम्पन्न

 ४ पुष २०८२, शुक्रबार २२:०३  
1

पिपरा गाउँपालिका वडा नं.–३ लाई औपचारिक रूपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ। स्थानीय समुदायको उल्लेखनीय सहभागिताबीच घोषणा सभा सम्पन्न भएको हो।

रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको सहकार्यमा तथा वडा कार्यालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा बालविवाहका कारण, त्यसका दीर्घकालीन प्रभाव तथा रोकथामका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले विद्यालय र समुदायस्तरमा सचेतनामूलक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सभामा २० वर्षभन्दा कम उमेरमा गरिने विवाह मुलुकी अपराध संहिता २०७५ अनुसार कानुनी अपराध भएको स्पष्ट गरिएको छ। साथै, बालविवाहमा संलग्न व्यक्तिलाई कैद तथा जरिवानासहित कानुनी सजायको व्यवस्था रहेको जानकारी गराइएको छ।

वडाले बालविवाह न्यूनीकरणका लागि विद्यालयस्तरीय निबन्ध, वक्तृत्वकला, चित्रकला, नाटक, गीत–संगीत प्रतियोगिता, घरदैलो अभियान तथा सामुदायिक सभा जस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रमका वक्ताहरूले बालविवाहका प्रमुख कारण सामाजिक परम्परा, गरिबी र चेतनाको अभाव रहेको उल्लेख गर्दै समुदायमै आधारित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगी लाल रायले बालविवाहमुक्त वडा घोषणा केवल औपचारिकतामा सीमित नराखी यसलाई अन्य वडाहरूमा पनि विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले बालविवाह न्यूनीकरणका लागि समाजका सबै वर्ग, परिवार, विद्यालय, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको साझा दायित्व रहेको बताए। बालविवाह अन्त्य गर्न सामूहिक प्रयास र निरन्तर सचेतना अपरिहार्य रहेको उनले जोड दिए।

वडा अध्यक्ष किशोरी अधिकारीले वडा नं.–३ लाई बालविवाहमुक्त वडा घोषणा गर्न सफल भएकोमा अत्यन्त खुसी व्यक्त गर्दै यस अभियानलाई दिगो बनाइने प्रतिबद्धता जनाइन्।

कार्यक्रम वडा अध्यक्ष किशोरी अधिकारीको अध्यक्षता तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगी लाल रायको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा पिपरा गाउँपालिका अध्यक्ष रामजानकी यादव, उपाध्यक्ष बन्दना पाण्डे, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्मा, वडा अध्यक्षहरू राजेश कुमार दास र हरिशंकर यादव, संजीत यादव, मधुवेन्द्र झा, रतौली युवा क्लबका कार्यकारी निर्देशक बैदनाथ चौधरी, सेभ द चिल्ड्रेनका सिनियर प्रोग्राम कोडिनेटर दीपक बुढाथोकी, इलाका प्रहरी कार्यालय सहोरवाका वरिष्ठ सई राम विनय बैठा,स्वास्थ्य शाखा प्रमुख विरेन्द्र यादव,महिला तथा बालबालिका शाखा प्रमुख रचना झा, वडा सदस्यहरू, फिल्ड सुपरभाइजर शम्भु कुमार साह, राजेश पाण्डे,अखिलेश झा,रानी पाण्डे विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय विद्यालयका विद्यार्थी, अभिभावक, महिला समूह, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।