आरजे इर्शाद शेख
महोत्तरी, १८ पुस
जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा जिल्ला प्रशासन कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीको संयुक्त समन्वयमा “सार्वजनिक/नागरिक सुनुवाई कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रमको आयोजना बर्दिबास नगरपालिका वडा नं. १ स्थित दीपक पार्टी प्यालेसको सभाहलमा गरिएको थियो। कार्यक्रम प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा, नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीको प्रमुख अतिथ्यमा र प्रहरी उपरीक्षक हेरम्ब शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हे.क्वा. महोत्तरीका प्रमुख शेर बहादुर अधिकारी लगायत विभिन्न सरकारी अधिकारीहरूको उपस्थिती थियो।
कार्यक्रममा बर्दिबास नगरपालिकाका वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधि, व्यापारी, यातायात व्यवसायका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संचारकर्मी, शिक्षक, विद्यार्थी र अन्य स्थानीय जनसमुदायले सहभागिता जनाएका थिए।
सार्वजनिक समस्याहरू र नागरिकका गुनासा
कार्यक्रममा सहभागीहरूले विभिन्न समस्याहरू, जस्तै लागु औषध प्रयोग, ट्राफिक प्रहरीले अनावश्यक चेकिङ्ग, अवैध खोला उत्खनन, काठ तस्करी, र जंगली जनावरको नियन्त्रणबारे गुनासा गरेका थिए। साथै, शान्ति-सुरक्षा बढाउन प्रहरी जनशक्ति थप्नुपर्ने र जंगली जनावरहरूको नियन्त्रण गर्नुपर्ने जस्ता सुझाव पनि राखिएका थिए।
कार्यक्रममा नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले “कार्यालयहरू बीच समन्वय गरेर नागरिकलाई सहज सेवा प्रदान गर्ने प्रतिबद्धता” जनाएका छन्। प्रहरी उपरीक्षक हेरम्ब शर्माले भने, “सार्वजनिक सुनुवाई कार्यक्रम नागरिकका धारणा, सरोकार र सुझावहरूको संकलन गर्दै सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।” उनले नागरिक र प्रहरी बीचको निकटता र सहभागितामा सुधार ल्याउने कुरा पनि उल्लेख गरे।
प्रहरीको भूमिका र सेवाका सुधारहरू
शर्माजीले प्रहरीको कार्यलाई “उच्चतम सेवा र मानव सेवा” को रूपमा व्याख्या गर्दै, शान्ति र सुरक्षाको अभावमा समाजको कुनै पनि गतिविधि सहज नहुने बताएका छन्। उनले प्रहरी कार्यमा सुधार, नागरिकको सहभागिता र समन्वयात्मक ढंगले काम गर्नको महत्त्वको कुरा गरे।
कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले चालु आ.व. को मंसिर महिनासम्म गरेका कार्यहरूको संक्षिप्त विवरण प्रस्तुत गरेको थियो। यसरी सबै सहभागीलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो।
