जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २४ पुस
कमला सिंचाई पश्चिमी नहर प्रणाली जल उपभोक्ता संस्था मूल नहर समितिको दोश्रो साधारणसभा बिहीबार धनुषाको पोर्ताहामा सम्पन्न भएको छ ।
श्यामबाबु यादवको अध्यक्षतामा वार्षिक साधारणसभामा समितिको आयव्यय विवरण प्रस्तुत गरिएको छ ।
साधारणसभाको उद्घाटन गर्दै मधेश प्रदेशसभाका सदस्य संजय महतोले कमला सिंचाईले जिल्लाको पूर्वी क्षेत्रका हजारौ विग्हा जग्गा सिंचित हुने गरेकाले यसको व्यवस्थापन गर्दै अघि बढनुपर्नेमा जोड दिए ।
समयमा वर्षा नहुँदा चिन्तित हुने गरेका किसानका लागि कमला सिंचाई अमृतसरह रहेको उनले बताए ।
सो अवसरमा गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले कमला नहर प्रणालीबाट थप जग्गा सिंचित गर्ने गरी योजनाहरु ल्याउनुपर्नेमा जोड दिए ।
गणेशमान चारनाथ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष भरत कार्की, कमला सिंचाई व्यवस्थापन कार्यालयका प्रमुख रंधिरकुमार साह, जल उपभोक्ता महासंघका केन्द्रीय सदस्य जिवछी साह, मधेश प्रदेश अध्यक्ष रामउदगार यादव, धनुषा जिल्ला अध्यक्ष कारी यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कमला सिंचाई पश्चिमी नहर प्रणाली जल उपभोक्ता संस्था मूल नहर समितिका कोषाध्यक्ष बरुणकुमार यादवले आर्थिक वर्ष २०८१।८२ को आयव्यय विवरण प्रस्तुत गरे ।
कोषाध्यक्ष यादवले ६१ लख ६५ हजार ७ सय ४८ रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
साधारणसभामा शाखा अध्यक्षहरुले आ आफ्नो शाखा मातहत गर्नुपर्ने कार्य र विगतमा सम्पन्न योजनाहरुको समीक्षा गर्दै आगामी योजनाबारे विचार राखेका थिए ।
परबाहा शाखाका सुजित मिश्र, रघुनाथपुर शाखाका रामवृक्ष यादव, महिनाथपुर शाखाका रामभगत यादव लगायतले आ आफ्नो विचार राखेका थिए ।
समितिका उपाध्यक्ष संजिव यादवले संचालन गरेको साधारणसधाको उद्घाटन सत्रमा सचिव जगदिश यादव लगायत साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
