आरजे इर्शाद शेख
महोत्तरी, २५ पुस
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीमा भर्ना हुन इच्छुक आवेदकहरूको आवेदन दर्ताका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा शुक्रबार बिहानैदेखि ठूलो भीड लागेको छ।
निर्वाचन सुरक्षाका लागि महोत्तरी जिल्लामा कुल ३ हजार ९१२ जना म्यादी (निर्वाचन) प्रहरी भर्ना गरिने भएको छ। निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति महोत्तरीले बिहीबार जारी गरेको एकीकृत सूचनाअनुसार उक्त सङ्ख्यामा म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको हो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी सूचनामा स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी–सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि, २०८२ अनुसार भर्ना प्रक्रिया सञ्चालन भइरहेको उल्लेख गरिएको छ।
चार निर्वाचन क्षेत्र रहेको महोत्तरी जिल्लामा निर्वाचनका लागि २५८ मतदान स्थल, ५३६ मतदान केन्द्र र ४ लाख ३१ हजार २८२ जना मतदाता कायम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टका अनुसार म्यादी प्रहरीका लागि आवेदन फाराम भर्ने अवधि पुस २५ गतेदेखि माघ १ गतेसम्म तोकिएको छ। तोकिएको समयसीमाभित्र आवश्यक योग्यता पूरा गरेका इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्ने उनले जानकारी दिए।
आवेदन दर्ताका क्रममा भीड व्यवस्थापन तथा शान्ति–सुरक्षालाई ध्यानमा राख्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। म्यादी प्रहरी भर्नाप्रति विशेषगरी युवाहरूको उल्लेखनीय उत्साह देखिएको छ।
