" >
बर्दिवास उद्योग वाणिज्य संघ : तीन वर्षमा व्यवस्था, सेवा र चुनौती - Jaleshwortoday

बर्दिवास उद्योग वाणिज्य संघ : तीन वर्षमा व्यवस्था, सेवा र चुनौती

 ३ माघ २०८२, शुक्रबार २२:५४  
3

जीवनराज दाहाल
बर्दिबास, २ माघ

बर्दिवास उद्योग वाणिज्य संघले पछिल्लो तीन वर्षमा भोगेको यात्रा केवल प्रशासनिक कार्यकाल मात्र नभई संस्थागत अनुशासन र व्यवसायीको भरोसा पुनःनिर्माण गर्ने प्रयासका रूपमा देखिएको छ । ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रमको ७३औँ अङ्कमा संघका पदाधिकारी तथा स्थानीय व्यवसायीहरूसँग गरिएको संवादमा यस कार्यकालका उपलब्धि र कमजोरी दुवै पक्ष खुलस्त रूपमा प्रस्तुत गरिएका छन् । कार्यक्रमका सञ्चालक जीवनराज दाहाल हुन् ।

संवादका क्रममा संघलाई विगतको अव्यवस्थित अवस्थाबाट निकालेर एउटा स्पष्ट दिशामा डोर्‍याउने प्रयास गरिएको उल्लेख गरियो । विशेषगरी डिजिटल प्रणालीमार्फत व्यवसायीहरूको विवरण सङ्कलन सुरु हुनु र कागजी अस्तव्यस्ततालाई अन्त्य गर्नु संस्थागत सुधारका प्रमुख आधारका रूपमा चर्चा गरियो । कार्यसमितिभित्रको सामूहिक काम गर्ने संस्कृतिले योजना कार्यान्वयनलाई सहज बनाएको धारणा राखिएको छ ।

भौतिक पूर्वाधारतर्फ संघको भवनलाई दुई तले बनाएर आधुनिक स्वरूप दिइनु कार्यकालको देखिने उपलब्धिमध्ये एक हो । यसले संघको सेवा क्षमता बढाएको मात्र होइन, संस्थाप्रति व्यवसायीहरूको विश्वास पनि बढाएको बताइएको छ ।

व्यवसायीको सुरक्षालाई केन्द्रमा राख्दै स्थापना गरिएका अक्षय कोष र राहत कोषलाई यस कार्यकालको संवेदनशील उपलब्धिका रूपमा लिइएको छ । आगलागी, मृत्यु वा आकस्मिक विपत्तिका समयमा यी कोषले व्यवसायीलाई ‘संस्थागत साथ’ दिएको अनुभूति गराएको व्यवसायीहरूको भनाइ छ ।

त्यसैगरी, आन्तरिक राजस्व कार्यालय र घरेलु कार्यालयका सेवा संघकै कार्यालयबाट उपलब्ध गराउने व्यवस्था मिलाइनुले सरकारी सेवा लिनुपर्ने झन्झट कम भएको छ । लेनदेनका विवाद र व्यवसायिक झै–झगडालाई अदालतको ढोका नढकढक्याई संघभित्रै समाधान गर्ने उद्देश्यले स्थापना गरिएको मेलमिलाप केन्द्रलाई पनि प्रभावकारी अभ्यासका रूपमा प्रस्तुत गरिएको छ ।

संघले बर्दिवासको समग्र विकासलाई दृष्टिगत गर्दै १० वटा विभिन्न संघ–संस्थासँग सहकार्य गरी सम्भावित पर्यटन क्षेत्रको पहिचान गरेको छ । तयार पारिएको विकास ‘मार्गचित्र’ तीनै तहका सरकारलाई बुझाइनु स्थानीय विकासमा निजी क्षेत्रको चासो र भूमिकाको उदाहरण बनेको छ ।

बर्दिवास महोत्सव र ‘सस्तो बजार’ जस्ता कार्यक्रमहरूले बजारमा चहलपहल बढाउँदै व्यवसायी र उपभोक्ताबीच सम्बन्ध नजिक्याएको चर्चा पनि कार्यक्रममा गरिएको छ ।

यद्यपि, व्यवसायिक वातावरण चुनौतीरहित भने छैन । क्षेत्रीय राजनीतिका प्रभाव, व्यवसायीहरूको विदेश पलायन र कमजोर आर्थिक अवस्थाले व्यापार धरापमा पर्दै गएको यथार्थ पनि स्वीकार गरिएको छ । अधिकांश व्यवसायी घाटामा रहेको र व्यापार टिकाइराख्न कठिन हुँदै गएको गुनासो सार्वजनिक गरिएको छ ।

आगामी निर्वाचनलाई केन्द्रमा राख्दै व्यवसायीहरूले अबको नेतृत्व सक्षम, दूरदर्शी र उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गरेका छन् । सानो प्रलोभनभन्दा माथि उठेर दीर्घकालीन सोचसहित प्रतिनिधि छनोट गर्नुपर्ने सन्देश ‘पञ्चामृत’ कार्यक्रममार्फत प्रवाह गरिएको छ ।

विगत तीन वर्षमा सुरु गरिएको सुधारको अभ्यासलाई निरन्तरता दिने नेतृत्व नै बर्दिवास उद्योग वाणिज्य संघको आगामी आवश्यकता रहेको निष्कर्ष निकालिएको छ ।