मो.ईर्शाद
महोत्तरी, १४ माघ
परराष्ट्रमनन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन महोत्तरीको सिमावर्ती क्षेत्रको अनुगमन गर्नु भएको छ ।
बुधबार सदरमुकाम जलेश्वर आई पुग्नु भएको परराष्ट्रमन्त्री शर्माले सिमावर्ती गाँउ मलिवाडा र नैन्हीस्थित मतदान केन्द्रको स्थलगत निरिक्षण अनुगमन गर्नु भएको हो । अनुगमनपश्चात् प्रतिक्रिया दिनु हुँदै मन्त्री शर्माले फागुन २१ गते हुने निर्वाचनको लागि नेपाल सरकारको सुरक्षाकर्मी र निर्वाचन अधिकृतहरूको कस्तो तयारी छ त्यसबारे जानकारी लिन महोत्तरी आएको बताउनु भयो ।
फागुन २१ गते हुने चुनावमा सुरक्षाकर्मीहरू र जनप्रतिनिधिहरूको पनि बराबरको भूमिका हुन जान्छ । “महोत्तरी आउनुको मूख्य कारण नेपाल सरकारले निर्वाचनका लागि कुन किसिमको सहयोग गरिदिनु पर्छ, कुनै किसिमको कठीनाइ छ कि ? त्यो बुझन आएको छु ।” उहाँले भन्नु भयो ।
“चुनावलाई भयरहित र व्यवस्थित बनाउन निर्वाचनमा कुनै अवरोध सृजना हुन्छ कि भनेर हेर्न आएको थिए , हेरेपछि सामान्य नै लागेको छ ।” परराष्ट्रमन्त्री शर्माले भन्नु भयो “नेपाल पट्टीको सशस्त्र प्रहरी र भारत पट्टीको एसएसबीसँगको समन्वय राम्रो भएकोले चुनावमा नकारात्मक असर पर्ने जस्तो लागेन ।”
निर्वाचनको अर्को कुनै विकल्प छैन, निर्वाचन गर्नै पर्छ । सुरक्षा अधिकारीलाई निर्वाचनलक्षित निर्देशन दिनुहुँदै मन्त्री शर्माले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । परराष्ट्रमन्त्री शर्माले जिल्लाका सुरक्षा अधिकारीसँग महोत्तरीमा निर्वाचनलाई लक्षित गरी बनाइएको सुरक्षा योजनाबारे जानकारी समेत लिनुभएको छ ।
मन्त्री शर्मालाई महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलगायतका सुरक्षा अधिकारीहरूले जिल्लाको चुनावी सुरक्षा तयारीबारे जानकारी गराउनु भएको थियो । महोत्तरीको १६३ मतदानस्थललाई अतिसंवेदनशील, ८९ लाई संवेदनशील र ६ लाई सामान्य सुरक्षा अवस्थाको सूचीमा राखिएको छ ।
निर्वाचन क्षेत्र नं १ मा २५ , क्षेत्र नंं २ मा ३७ , क्षेत्र नं ३ मा ४१ र क्षेत्र नं ४ मा ३६ सहित १३९ उम्मेदवार प्रतिस्पर्धामा रहेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दुई लाख ३५ हजार १८३ पुरूष, एक लाख ९२ हजार ९७ महिला र अन्य २ गरी कुल चार लाख ३१ हजार २८२ मतदाता रहेको जनाइएको छ ।
अनुगमनको क्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थापालिया, मध्य पूर्वी पृतानाका पृतानापति उपरथी कृष्णबहादुर जिसी, छिनमस्ता बाहिनी प्रमुख कृष्ण ढकाल, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रमुख सेनानी रामप्रसाद लामिछाने, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्मा, सशस्त्र प्रहरी बल नम्बर ९ गण हे.क्वा. का सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारी तथा राष्ट्रिय अनुसन्धानका प्रमुख चन्दन झालगायत सुरक्षासम्बन्धी अधिकारीहरूको सहभागिता थियो।
