" >
रेल सञ्चालन बारे विपक्षीले झुटो प्रचार गरिरहेका छन् : जुली महतो - Jaleshwortoday

रेल सञ्चालन बारे विपक्षीले झुटो प्रचार गरिरहेका छन् : जुली महतो

 २० माघ २०८२, सोमबार २१:४३  
6

ओम प्रकाश साह
जनकपुरधाम, १९  माघ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जनकपुरधाम वडा नम्बर–१ को आयोजनामा सम्पन्न वडा स्तरीय भेला तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा धनुषा क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुली कुमारी महतोले जनकपुरधाम रेल सञ्चालन लाई लिएर एक विपक्षी दल तथा उम्मेदवारले तथ्यविहीन र भ्रामक प्रचार गरिरहेको आरोप लगाएकी छन्।

कार्यक्रममा बोल्दै महतोले जनकपुरधाम–जयनगर रेल सेवा कुनै आकस्मिक उपलब्धि नभई दीर्घकालीन प्रयास, नेपाल सरकार र भारत सरकार बीच कूटनीतिक पहल र प्राविधिक समन्वयको परिणाम भएको बताइन्। उनले पूर्व उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको नेतृत्व र निरन्तर पहलले नै नेपाल रेल सञ्चालन सम्भव भएको बताईन्।
“लामो समयको संघर्षपछि रातो र निलो रंगयुक्त, आधुनिक डिजाइनको नेपाल रेल जनकपुरधाममा सञ्चालनमा आयो,” महतोले भनिन्, “तर अहिले आएर केही विपक्षी उम्मेदवारहरूले बिना प्रमाण रेल सञ्चालनलाई लिएर झुटो प्रचार गरेर जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन्, जुन अत्यन्तै आपत्तिजनक छ।”
महतोले विकासका कामलाई राजनीतिक स्वार्थका लागि तोडमोड गरेर प्रस्तुत गर्नु जनताप्रति गरिएको बेइमानी भएको बताउँदै जनताले यस्ता भ्रमपूर्ण प्रचारलाई अस्वीकार गर्ने विश्वास व्यक्त गरिन्। उनले एमाले नेतृत्वको सरकारले मधेशको विकास र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरिन्।

उनले जनताको हित, विकास र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै संगठनलाई अझ सुदृढ बनाएर घरदैलो अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्ने आवश्यकता औंल्याइन्।
जनकपुरधाम वडा कमिटी अध्यक्ष लभ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, युवा, महिला तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो। भेलामा वडास्तरमा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी निर्वाचन लाई लक्षित रणनीति बारे छलफल गरिएको जनाएको छ।