अहिले मधेस चुनावमय देखिएको छ । समग्र देश नै चुनाबमय भएको भन्दा पनि असत्य नहोला । यस परिवेशमा सबै दलका उम्मेदबार तथा स्वतन्त्र उम्मेदबारहरु प्रतिनिधि सभाको चुनावी प्रचारप्रसारमा होमिएको देखिन्छ । सामाजिक सञ्जालदेखि टोल—टोल तथा शहर बजारमा चुनाबकै चहलपहल तथा चर्चा परिचर्चा चलेको देखिन्छ । एमाले तथा काँग्रेस ठूला पार्टीहरुका उम्मेदबारहरु नयाँ पार्टीहरु तथा नयाँ उम्मेदबारदेखि भयभित भएको जस्तो देखिन्छ । जनमानसमा रास्वपा अर्थात घण्टीको सकारात्मक छाप परेको अहिलेको सबैको बुझाई रहेको देखिन्छ । कमबेसी प्रभु साह नेतृत्वको मोबाइल छापको पनि प्रभाव तथा प्रमाणित राम्रा कामहरुले जनतालाई आकर्षित गरिरहेको देखिन्छ । जेनजि आन्दोलनले काँग्रेस तथा एमालेलाई दिएको सन्देश तथा परेको नकारात्मक प्रभावले दुखित जनतालाई रिझाउन तथा फकाउन हम्मे पर्ने देखिन्छ । तैपनि काँग्रेस तथा एमालेका मधेस केन्द्रीत उम्मेदबारहरु विभिन्न नव नीति तथा रणनीति बनाई अवस्था जस्तोसुकै भए पनि आफ्नो जित कसरी सुनिश्चित हुन्छ भन्ने चिन्तनमा नलागेको भन्न सकिदैन । संघीयता रास्वपा लगायत केही दलको राष्ट्रिय मुद्दा नभए पनि मधेसलाई त संघीयता चाहिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको लागि कुन दलले विगतमा अहम भूमिका खेलेको छ भन्ने कुरालाई मधेसबादी जनसमुदायले बिर्सिनु हुदैन । हामीले नयाँ र पुरानोको जालमा नपरी विगतका राम्रा कामहरुका साथै उम्मेदबारको भिजन र मिसनलाई ध्यान दिन आवश्यक रहेको देखिन्छ ।
