निर्वाचन नजिकिँदै जलेश्वरमा प्रहरी–सेनाको संयुक्त निगरानी तीव्र – Jaleshwortoday

निर्वाचन नजिकिँदै जलेश्वरमा प्रहरी–सेनाको संयुक्त निगरानी तीव्र

 February 13, 2026  
1

मो.ईर्शाद
महोत्तरी, १ फागुन

आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जलेश्वर नगरपालिका–७ अन्तर्गत रातो पुल बखरी नजिक तथा बखरी चोक क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। सम्भावित अवाञ्छित गतिविधि रोकथाम र मतदान प्रक्रिया शान्तिपूर्ण बनाउन सुरक्षा निकायहरूले संयुक्त रूपमा गस्ती, चेकजाँच तथा निगरानी अभियान सञ्चालन गरेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्सपेक्टर टीका राज बरालको कमाण्डमा २४ सदस्यीय प्रहरी टोली खटिएको छ। सोसँगै नेपाल प्रहरी, नेपाल आर्मी (उपसेनानी पुनम तामाङ नेतृत्व), सशस्त्र प्रहरी बल, निर्वाचन प्रहरी तथा ट्राफिक प्रहरीको सक्रिय सहभागिता रहेको छ।

संयुक्त सुरक्षा टोलीले सडकमार्गमा चल्ने सबै प्रकारका सवारी साधन रोकी मापसे चेक, चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुक तथा आवश्यक कागजातको विस्तृत जाँच गरिरहेको छ। बस, कार, ट्र्याक्टरदेखि मोटरसाइकलसम्म सबैमा विशेष निगरानी राखिएको छ। नियम उल्लंघन गर्ने तथा शंकास्पद गतिविधि देखिने व्यक्तिमाथि तत्काल कानुनी कारबाही प्रक्रिया थालिने सुरक्षा स्रोतले जनाएको छ।

सुरक्षा निकायका अनुसार निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्ने, मतदातालाई सुरक्षित वातावरण प्रदान गर्ने तथा अवाञ्छित गतिविधि हुन नदिन कडाइ गरिएको हो। स्थानीयवासीहरूले पनि जलेश्वर क्षेत्रमा बढाइएको सुरक्षा व्यवस्थालाई सकारात्मक रूपमा लिएका छन्।
प्रहरीका अनुसार निर्वाचन सकिनेसम्म नियमित गस्ती, चेकजाँच र निगरानी निरन्तर जारी रहनेछ।