जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ७ फागुन
हरेक बर्षजस्तै शुक्रवार जलेश्वरमा रामजानकीको डोलासहित विश्राम गर्ने मिथिला माध्यमिकी परिक्रमका पदयात्रीको व्यवस्थापनका लागि तयारी पूरा भएको छ ।
जलेश्वर नगरपालिका६ स्थित परिक्रम गाछीको सरसफाई तथा खानेपानीको प्रबन्ध गरिएको छ । हरेक बर्षजस्तै यसबर्ष समेत स्वर्गीय परशुराम साह मिथिला पर्रिकमा धर्म संस्थाले प।िरकमा यात्रीलाई चामल, दाल, च्यूरा, चिनी, गुड, दही, आटा, खानेतेल, आलु, चियापति, सुख्खादुध, ध्यू, मसाला(धनिया,हल्दी, खुर्सानीको धुलो), नुन, जीरामरिच, तील,जौ, पात, अगरवती, सलाई, मिश्री,भिनेगर, पराल, दाउरा, मारकिन, भेष्ट, गमछालगायतको सामग्री बितरण गर्ने तयारी रहेको गोपालप्रसाद साहले बताए । साथै शुक्रवार विहान मिथिलाबिहारीजीको डोलालाई भार्गवसरस्थित डोलास्थानबाट परिक्रममा गाछीसम्म बाजागाजासहित ल्याउने कार्यक्रम छ । शनिवारको दिन धर्मसंस्थाका प्रतिनिधिहरुले दक्षिणा दिई साधुसन्तको विदाई गर्नेछन् ।
अर्कोतर्फ जलेश्वर नगरपालिकाको व्यवस्थापन समितिले समेत परिक्रमावासीका लागि आवश्यकतालाई ध्यानमा राखेर अल्पकालीन प्रबन्धहरु पूरा गरेका छन् । रामजानकीको डोला आइसके पश्चात् लाग्ने मेलाको व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवकलगायतका सरोकारवाला तयारी अवस्थामा रहेको बुझिएको छ ।
