जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १९ फागुन
मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को आङ्गिक क्याम्पस स्थापना प्रक्रिया अघि बढाइएको छ । प्रत्येक प्रदेशमा कम्तिमा एउटा आङ्गिक क्याम्पस स्थापना गर्ने योजनाअन्तर्गत मधेश प्रदेशको सर्लाहीमा ‘आईओई धनकौल क्याम्पस’ स्थापनाको प्रारम्भिक प्रक्रिया अगाडि बढाइएको हो ।
सात प्रदेशमध्ये कर्णाली प्रदेशमा आङ्गिक क्याम्पस स्थापना प्रक्रिया सुरु हुन बाँकी रहेको जनाएको छ । सर्लाही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत धनकौल गाउँपालिका–सेखौना फिल्डस्थित करिब १० बिघा जग्गामा क्याम्पस स्थापनाका लागि प्रारम्भिक प्रस्ताव अघि सारिएको मधेसी प्रजातान्त्रिक इन्जिनियर्स समाजको अध्यक्ष इन्जिनियर धर्मनारायण साहले जानकारी दिनुभयो ।
सो क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा तथा नेपाली कांग्रेस मधेश प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवको पहलमा एवम् मधेशी प्रजातान्त्रिक इन्जिनियर्स समाजको सक्रियतामा धनकौल क्याम्पस’ स्थापनाको प्रारम्भिक प्रक्रिया अगाडि बढेको उहाँले बताउनुभयो ।
सो अवसरमा समाजका संस्थापक अध्यक्ष इन्जिनियर अभिमन्युलाल सिंह, वर्तमान अध्यक्ष इन्जिनियर. धर्मनारायण साह तथा महासचिव इन्जिनियर उमेशप्रसाद चौधरीको विशेष सक्रियतामा प्रस्ताव अघि बढाइएको जनाइएको छ ।
कार्यक्रममा सेन्टर फोर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का केन्द्रीय अध्यक्ष इन्जिनियर रविभूषण झा, सिडेन मधेश प्रदेश अध्यक्ष इन्जिनियर राजकिशोर भिन्वार, नेपाल इन्जिनियर्स एसोसिएशनका केन्द्रीय सदस्य इन्जिनियर जयकिशन रायलगायत विभिन्न पेशागत संस्थासँग आबद्ध इन्जिनियरहरू तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सहभागीहरुले प्रस्तावित क्याम्पस स्थापनाले मधेश प्रदेशको प्राविधिक शिक्षा विस्तारका लागि ऐतिहासिक कदमका रूपमा लिएका छन् ।
तस्बिर ः इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत प्रस्तावित आङ्गिक क्याम्पस स्थापना स्थल ।
