महोत्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूका सुरुवाती अग्रता कायमै – Jaleshwortoday

महोत्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूका सुरुवाती अग्रता कायमै

 March 6, 2026  
2

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २२ फागुन

महोत्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजे सार्वजनिक गरेको विवरणअनुसार पुराना र ’हेभीवेट’ मानिने उम्मेदवारहरू रास्वपासँग निकै पछाडि परेका छन् ।
महोत्तरी क्षेत्र नं १ः यहाँ रास्वपाका प्रमोदकुमार महतोले २१ हजार ८६० मत प्राप्त गरी आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेलले ७ हजार २३८ मतका साथ पछ्याइरहेका छन् भने नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीले ४ हजार २७५ मत पाएका छन् ।
महोत्तरी क्षेत्र नं २ः यस क्षेत्रमा रास्वपाका दीपककुमार साह ८ हजार ४८० मतका साथ अग्रस्थानमा छन् । उनलाई जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता शरतसिंह भण्डारीले २६०२ मतका साथ पछ्याइरहेका छन् । महोत्तरी क्षेत्र नं ३ र ४ः क्षेत्र नम्बर ३ मा रास्वपाका उज्ज्वल झाले ५७१ मत पाउँदा स्वतन्त्र उम्मेदवार रामआधार कापरले ११४ मत प्राप्त गरेका छन्। यस्तै, क्षेत्र नम्बर ४ मा रास्वपाकी गौरीकुमारी १ हजार ८९९ मतसहित अगाडि छिन् । उनलाई जसपाका डा. सुरेन्द्रकुमार यादवले ८५२ मतका साथ पछ्याइरहेका छन् । महोत्तरी ३ मा सामान्य विवाद कारण मत गणना शुरु हुन पनि ढिलाई भएको थियो भने विचमा पनि अवरुद्ध भएको थियो । जिल्लाका चारवटै क्षेत्रमा ’घण्टी’ को लहर देखिएपछि मधेसको राजनीतिमा लामो समयदेखि प्रभाव जमाएका दलहरू अहिले दबाबमा देखिएका छन् । अहिले सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए ।