" >
मटिहानी–२ बरदाहामा फैजुल गुर्वा मदरसा आधारभूत विद्यालयको RCC भवन निर्माण कार्यको शिलान्यास - Jaleshwortoday

मटिहानी–२ बरदाहामा फैजुल गुर्वा मदरसा आधारभूत विद्यालयको RCC भवन निर्माण कार्यको शिलान्यास

 २८ फाल्गुन २०८२, बिहीबार २२:४४  
5

मो.इर्शाद
महोत्तरी, २८ फागुन

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.२ बरदाहा स्थित फैजुल गुर्वा मदरसा आधारभूत विद्यालयको नयाँ RCC पक्की भवन निर्माण कार्यको आज शिलान्यास गरिएको छ। मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले एक कार्यक्रमबीच उक्त भवनको शिलान्यास गर्नुभएको हो।

सो भवनको शिलान्यास गर्दै नगर प्रमुख मंडलले शिक्षा बिना समाज सुधार सम्भव नरहेकोले शिक्षा बिकासको लागि सबैको सहयोग आवश्यक रहेको भन्नुभयो ।
मटिहानी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको सो भवन ८६ लाख ८७ हजार रुपैयाँको लागतमा निर्माण गरिनेछ।
नगरपालिकाका इन्जिनियर बिमलेश साहका अनुसार विद्यालयका लागि चार कोठे RCC पक्की भवन निर्माण गरिनेछ, जसले विद्यालयको शैक्षिक वातावरणलाई अझ व्यवस्थित र सहज बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।
स्थानीयवासीहरूले पनि विद्यालयको नयाँ भवन निर्माणले शिक्षा क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन्। RCC पक्की भवन निर्माण कार्य सम्पन्न भएपछि विद्यालयको भौतिक अवस्था सुधार हुनुका साथै विद्यार्थीहरूलाई अध्ययनका लागि थप सहज वातावरण उपलब्ध हुने विश्वास गरिएको छ।

शिलान्यास कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष मोहम्मद रयुफ़, वडा नं. ३ का वडा अध्यक्ष नाजिर मिया, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम जतन यादव, मटिहानी नगरपालिकाका शिक्षा शाखा प्रमुख श्रीश कुमार मिश्र, विद्यालयका प्रधानाध्यापक ज्याबुल हक लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी मटिहानी नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, स्थानीय अगुवा मंजुर शेख तथा अन्य स्थानीय बासिन्दाहरूको पनि कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।