ओ पी साह
जनकपुरधाम, १ चैत्र
श्री गोगल प्रसाद नमूना माध्यमिक विद्यालयले आज आइतबार शैक्षणिक प्रदर्शनी–२०८२ आयोजना गरेको छ। प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान, सामाजिक तथा कला विषयसँग सम्बन्धित विभिन्न परियोजना र सिर्जनाहरू प्रस्तुत गरेका थिए।

प्रदर्शनीको उद्घाटन जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहले गरेका थिए। प्रदर्शनी अवलोकनपछि उनले यस्ता कार्यक्रमले विद्यार्थीमा अनुसन्धान, सिर्जनशीलता र व्यवहारिक सिकाइको विकास गर्न मद्दत पुग्ने बताए। “पुस्तकमा मात्र सीमित शिक्षा पर्याप्त हुँदैन, प्रयोगात्मक अभ्यासले विद्यार्थीको सोच र क्षमता विकास गर्छ,” उनले भने।
प्रदर्शनीमा विज्ञान, वातावरण, प्रविधि, समाज र कला विषयसँग सम्बन्धित विभिन्न मोडेल तथा परियोजनाहरू राखिएका थिए।
विद्यालयका प्रधानाध्यापक महाविर दासले यस्ता कार्यक्रमले विद्यार्थीलाई कक्षामा सिकेको ज्ञान व्यवहारमा उतार्ने अवसर दिने बताए। कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।
