मोनू गुप्ता
जनकपुरधाम, ४ चैत्र
Welthungerhilfe (WHH)को सहयोगमा सबल नेपालद्वारा “न्यूट्रिशन स्मार्ट कम्युनिटी” भने जनचेतना मुलक परियोजना जनकपुरधाममा औपचारिक रूपमा सुरु भएको छ। समुदायस्तरमा पोषण सुधार गर्दै कुपोषण न्यूनीकरण गर्ने उद्देश्यसहित यो परियोजना सुरु गरिएको हो।
सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव प्रमोद कुमार यादव विशिष्ट अतिथिको रूपमा सहभागी भएका थिए। कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक दीपक कुमार झा ले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमका वक्ताहरूले स्थानीय तहमा पोषणसम्बन्धी जनचेतना अभिवृद्धि, सन्तुलित आहारको प्रवर्द्धन तथा आमा–बालबालिकाको स्वास्थ्य सुधारमा परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। विशेषगरी गर्भवती महिला, सुत्केरी आमा तथा बालबालिकालाई लक्षित गरी विभिन्न सचेतनामूलक तथा व्यवहार परिवर्तन कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।
सबल नेपालका प्रतिनिधिले परियोजनामार्फत समुदायमा पोषणमैत्री वातावरण निर्माण, स्थानीय स्रोतको उपयोग तथा स्वास्थ्य संस्थासँग समन्वय गरी दिगो प्रभाव सिर्जना गर्ने लक्ष्य रहेको बताए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। परियोजना सञ्चालनसँगै पोषण सुधारमा समुदायको सक्रिय सहभागिता बढ्ने अपेक्षा गरिएको छ।
