" >
केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमाले महोत्तरीको जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन - Jaleshwortoday

केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमाले महोत्तरीको जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन

 १५ चैत्र २०८२, आईतवार २२:३८  
1

मो.इर्शाद
महोत्तरी, १५ चैत्र

पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा भएको प्रदर्शनका क्रममा सरकारले राजनीतिक पूर्वाग्रह राख्दै विपक्षी नेतामाथि दमन गरेको आरोप लगाइएको छ ।

प्रदर्शनकारीहरूले ‘लोकतन्त्रको रक्षा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाउँदै प्रशासन कार्यालय घेराउ गरेका थिए ।

त्यसक्रममा उनीहरूले प्रमुख जिल्ला अधिकारी इन्द्र्देव यादव मार्फत प्रधानमन्त्री तथा राष्ट्रपति समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले वर्तमान सरकारले विधिको शासनभन्दा पनि शक्ति प्रयोगमार्फत राजनीतिक प्रतिशोध साँध्ने काम गरिरहेको आरोप लगाए ।

‘पूर्वप्रधानमन्त्री जस्तो सम्मानित व्यक्तित्वलाई लक्षित गरी गरिएको कारबाहीले देशको लोकतान्त्रिक अभ्यासमाथि नै प्रश्न उठाएको छ,’ उनले भने, ‘हामी तत्काल रिहाइको माग गर्दछौं ।

ज्ञापनपत्रमा केपी शर्मा ओलीमाथि लगाइएका आरोपहरू राजनीतिक प्रेरित भएको दाबी गरिएको छ । साथै, न्यायिक प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्ने माग पनि गरिएको छ ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको थियो । सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो । प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ ।

एमालेका कार्यकर्ताहरूले देशभर नै यस्ता विरोध कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन् । उनीहरूले सरकारलाई तत्काल आफ्ना निर्णयहरू सच्याउन आग्रह गर्दै अन्यथा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।