नेपालमा २०८२ साल फागुन २१ गते समपन्न प्रतिनिधि सभा चुनावको मतपरिणाम आए पश्चात बनेको प्रधानमन्त्री बालेन शाहको सरकारको नेतृत्वलाई अहिले सबै नेपालीले स्वीकार गर्नु पर्ने तथा सघाउन जरुरी रहेको देखिन्छ । किनभने बिक्रम सम्बत् २००७ सालमा प्रजातन्त्र आए पछि अहिले सम्मको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आउन्जेलसम्मको विभिन्न कालखण्डमा कैयौं प्रधानमन्त्री,मन्त्री तथा साँसदले जुनसुकै ठाउँहरुबाट नेतृत्व गरे पनि नेपालमा जनताले चाहेको सुशासन,विधिको शासनको पूर्णरुपमा पालना,भ्रष्टाचारको अन्त्य,बलात्कार,आतंक,आर्थिक असक्षमता लगायतका कमीकमजोरीहरु हटाउन सकेका छैनन् । विभिन्न क्षेत्रमा आफ्नै बेथितिहरु तथा आलोपालो सरकार बनाउने र खसाउने खेलले नेपाल द्वण्द्वमा अल्झेको परिवेश सबैलाई अवगत नै छ ।
तर अब बनेको नयाँ सरकार अर्थात दुई तिहाईको बालेन सरकारले अघि सारेको १ सय दिनको देश विकासका कार्यक्रमहरुले सबै नेपाली जनताको मन तान्नुका साथै अहिले छिमेकी देशहरुमा समेत सकारात्मक चर्चा चलेको देखिन्छ । शैक्षिक सुधारदेखि भ्रष्टाचार अन्त्य गर्न चालेका विभिन्न कदमहरु सराहनीय देखिन्छन् । देशको आर्थिक भार कम गर्न मन्त्रालयको संख्या घटाउनेदेखि विभिन्न सार्वजनिक संस्थानहरु खारेजी तथा मर्ज गर्ने निर्णयहरु समेत देशलाई आर्थिक रुपमा सबल बनाउने पक्का देखिन्छ । महिलामैत्री निःशुल्क बस सेवा,डिजिटल सेवाको विकास,हुलाक मार्फत विभिन्न सरकारी सेवाहरु घरमै प्राप्त गर्ने गराउने व्यवस्था,उद्योग दर्ता तथा लगानीको वातावरण तयार गर्न गराउन गरिएका निर्णयहरु स्वागत योग्य देखिएकाले बालेन सरकारलाई अझै काम गर्न सबै आम नेपालीले सघाउन जरुरी देखिन्छन् । अब हामीसँग अर्काे विकल्प पनि नरहेको सर्वबिदितै छ ।
