जलेश्वरमा डेराबाट लाखौँका गहना र नगद चोरी, सुरक्षा चुनौती बढ्दो – Jaleshwortoday

जलेश्वरमा डेराबाट लाखौँका गहना र नगद चोरी, सुरक्षा चुनौती बढ्दो

 April 3, 2026  
1

मो.इर्शाद
महोत्तरी, १९ चैत्र

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा बुधबार राति डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट लाखौँ मूल्य बराबरका सुनचाँदीका गहना र नगद चोरी भएको छ ।
मालपोत कार्यालयको पूर्वपट्टि रहेको अंगद प्रसाद मिश्राको घरमा चार वर्षदेखि भाडामा बस्दै आएका एकडारा गाउँपालिका–३ स्थायी घर भएका कौशलेन्द्र कर्णको कोठामा चोरी भएको हो ।
पीडित कर्णका अनुसार बुधबार राति उनी आफ्नै गाउँ गएका थिए । बिहीबार बिहान करिब १० बजे डेरामा फर्कँदा कोठाको ताला फुटेको अवस्थामा भेटेपछि चोरी भएको थाहा पाएका हुन् ।
“कोठाको ताला फुटेको देखेपछि सबै सामान चेक गर्दा गहना र नगद हराएको पाएँ,” कर्णले बताए ।

पीडितका अनुसार चोरी भएका सामानमा करिब ७ तोला सुन, ४०–५० तोला चाँदी तथा २५००० हजार रुपैयाँ नगद रहेका छन् । चोरी भएको कुल धनमालको मूल्य लाखौँ रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

घटना देखेपछि उनले छिमेकीलाई खबर गर्नुका साथै तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।
अनुसन्धान सुरु
सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ । चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सदरमुकामकै व्यस्त क्षेत्रमा राति भएको चोरी घटनाले स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।
रात्रिकालीन गस्ती बढाइयोस्, शंकास्पद गतिविधिमा निगरानी कडा बनाइयोस् र नागरिकको सुरक्षामा प्रभावकारी कदम चालियोस् स्थानीयले गुनासो गरेका छन् ।
घटना पछाडि प्रहरीको सक्रियता र अनुसन्धानले वास्तविकता बाहिर ल्याउने अपेक्षा गरिए पनि स्थानीयले अबको प्रश्न उठाएका छ्न
“सदरमुकाममै सुरक्षित छैनौं भने गाउँ–बस्तीको अवस्था कस्तो होला?”