" >
मटिहानी-९ मा टोल विकास संस्था गठन: परिचालन कार्यक्रम सम्पन्न - Jaleshwortoday

मटिहानी-९ मा टोल विकास संस्था गठन: परिचालन कार्यक्रम सम्पन्न

 २५ चैत्र २०८२, बुधबार २३:५६  
3

मो.इर्शाद
महोत्तरी, २५ चैत्र

स्थानीय विकास र सामाजिक सुधारका लागि मटिहानी नगरपालिकामा नागरिक सक्रियता बढेको छ । मटिहानी नगरपालिका वडा नं. ९ मा ‘सपोर्ट नेपाल’ को आयोजना, जर्मन संस्था KURVE Wustrow को सहयोग तथा वडा कार्यालयको सहकार्यमा बुधबार एक विशेष भेलाका बीच ‘टोल विकास संस्था’ विधिवत रूपमा गठन गरिएको छ ।
​बहुअर्वा टोलमा आयोजित उक्त कार्यक्रममा टोलको सर्वाङ्गिण विकासका लागि विभिन्न ६ वटा महत्वपूर्ण प्रस्तावहरूमा छलफल गरी सर्वसम्मतिले निर्णयहरू पारित गरिएको हो ।

​बैठकले टोलको सीमाना स्पष्ट पार्दै कार्यक्षेत्र समेत तोकेको छ । पूर्वमा बिन्देश्वर यादवको घरदेखि पश्चिममा सिघसन मण्डलको घरसम्म र उत्तरमा तेलिनिया पोखरीदेखि दक्षिणमा ब्रह्मस्थानसम्मको क्षेत्रलाई संस्थाको कार्यक्षेत्र बनाइएको छ ।
​विकास प्रक्रियामा कोही पनि नछुटुन् भन्ने उद्देश्यका साथ यस क्षेत्रभित्र बसोबास गर्ने दलित,अल्पसंख्यक र सिमान्तकृत लगायत सबै धर्म, संस्कृति र जातजातिका स्थानीयलाई समेट्ने गरी पूर्ण समावेशी संस्था बनाउने ऐक्यवद्धता जनाइएको छ ।

​संस्थाको कामलाई प्रभावकारी र संगठित रूपमा अगाडि बढाउन पहिलो चरणमा ५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसमा निम्न व्यक्तिहरू रहेका छन्:
​ललन दुवेदी,​राम एकवाल यादव, ​सुरेश खत्वे, ​गुरु शरण साह,​रामवृक्ष महरा बिन्दे कापर,पूजा देवी खत्बे,निलु यादव,गंगा देवी साह ,सलिता देवी खत्बे अनिता देवी यादव चयन भएको छ।

​समितिले अब संस्थाको विधान निर्माण, पारित र दर्ता प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।

​मदन चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि र अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा वडा सदस्य रत्नेश कुमार लाल कर्ण, वडा सचिव चन्देश्वर यादव, सपोर्ट नेपालका कार्यबाहक अध्यक्ष सुनील कुमार मलिक, कार्यकारिणी सदस्य गंगा प्रसाद साह, महोत्तरी जिल्ला संयोजक प्रकाश ठाकुर, धनुषा जिल्ला संयोजक शत्रुध्न महतो लगायत सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो ।
​आयोजक संस्थाले यस टोल विकास संस्थाको गठनसँगै बहुअर्वा टोलमा विकास निर्माणका कार्यहरूले थप गति लिने र स्थानीय समस्याहरूको सामूहिक रूपमा समाधान हुने ठूलो विश्वास लिएको छ ।
​यो कदमले स्थानीय स्तरमा सुशासन र सहभागितामूलक विकासको नयाँ अभ्यास सुरु गर्ने अपेक्षा गरिएको छ ।