मो. इर्शाद
महोत्तरी, ७ बैशाख
महोत्तरी, जलेश्वर। “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” द्वारा १२ बुँदे सम्झौताको पूर्ण कार्यान्वयन तथा बढ्दो महँगी नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालय जलेश्वरमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष मागपत्र पेश गरिएको छ।
मागपत्र बुझाउने कार्यक्रममा मिटर ब्याजी पीडित तथा विभिन्न पीडित समूहहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सरकारसँग भएका सहमति तथा सम्झौताहरू कार्यान्वयनमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका थिए। उनीहरूले तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
कार्यक्रममा बोल्ने वक्ताहरूले मिटर ब्याज समस्याबाट पीडित नागरिकलाई न्याय दिन, दोषीमाथि कडा कारबाही गर्न तथा पीडितको सम्पत्ति र अधिकार संरक्षण गर्न माग गरेका थिए। साथै, बजारमा बढ्दो महँगीले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै मूल्य नियन्त्रण, अनुगमन कडाइ र आवश्यक वस्तुहरू सुलभ दरमा उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ।
मागपत्रमा १२ बुँदे सम्झौताका सबै बुँदाहरूलाई व्यवहारमा उतार्न, महँगी नियन्त्रणका लागि ठोस नीति ल्याउन, कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कारबाही गर्नेलगायतका विषय समेटिएका छन्।
प्रमुख जिल्ला अधिकारी यादवले मागपत्र ग्रहण गर्दै सम्बन्धित निकायसम्म पुर्याउने र आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
यस अभियानले आफ्ना मागहरू सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रमहरू अघि बढाउने चेतावनी समेत दिएको छ।
