“खेली मधेश, जीती मधेश” नारासहित प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु – Jaleshwortoday

“खेली मधेश, जीती मधेश” नारासहित प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु

 May 18, 2026  
1

दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, ४ जेठ

“खेली मधेश, जीती मधेश” भन्ने मूल नारासहित मधेश प्रदेशस्तरीय खेलकुद प्रतियोगिता भव्य रूपमा सुरु गरिएको छ। मधेश खेलकूद परिषदको आयोजनामा उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि शिवाजी प्रसाद कानूले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदलाई युवाको प्रतिभा उजागर गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गरे। उनले प्रदेशमा खेलकुद संस्कृतिको विकास, अनुशासनको प्रवर्द्धन तथा खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रमको अध्यक्षता असगर अली खानले गरेका थिए। विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका गृह तथा कानून मन्त्री एवं भलिबल संघका प्रदेश अध्यक्ष ज्ञानेंद्र कुमार यादव उपस्थिति रहेको थियो। कार्यकममा मधेश खेलकूद परिषदका कार्यकारिणी सदस्य लव अधिकारी समेत अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी परिषदका अन्य पदाधिकारीहरु दिपेन्द्र गोईत,अजीत मिश्रा लगायतका समेत उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन प्रभु नारायण शिवाकोटीले गर्नु भयो त्यसतै स्वागत मन्तव्य परीशदका प्रशासनिक प्रमुख ज्याउल हकले गरेका थिए। उनले मधेश प्रदेशमा खेलकुद पूर्वाधार विकास, प्रतिभा पहिचान तथा खेलाडी उत्पादनमा परिषद निरन्तर सक्रिय रहेको बताए।
उद्घाटन अवसरमा पहिलो दिन भलिबल तथा कराते प्रतियोगिता सम्पन्न भएको आयोजकले जनाएको छ। प्रतियोगितामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ।
आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत भलिबल, फुटबल, भारोत्तोलन, टेबल टेनिस, कराते, तेक्वान्दो, खो–खो, बुद्धिचाल, जुडो, फुल कन्ट्याक्ट, बास्केटबल, हक्की, ह्याण्डबल, आईटीएफ, डोरितान, उसु, रग्बी तथा ब्याडमिन्टनसहित १९ विधाका खेलहरू सञ्चालन हुनेछन्। उसुमा महिला तथा रग्बीमा पुरुषतर्फ प्रतिस्पर्धा गराइनेछ। प्रतियोगिता मधेश प्रदेशका विभिन्न जिल्लामा क्रमिक रूपमा आयोजना गरिने परिषदले जनाएको छ।
प्रतियोगितामा १६७ पुरुष र १०८ महिला गरी कुल २७५ खेलाडी, १८ प्रशिक्षक तथा १० व्यवस्थापकसहित कुल ३०३ जनाको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।
खेलकुदमार्फत युवामा अनुशासन, आपसी सद्भाव तथा प्रदेशस्तरीय प्रतिभा विकासमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।