मो.इर्शाद
महोत्तरी, १५ जेष्ठ
महिनावारी स्वच्छता दिवसको अवसरमा महोत्तरी गाउँपालिकामा किशोरी तथा महिलाहरूलाई लक्षित गरी महिनावारी स्वच्छता दिवस सम्पन्न भएको छ।
महिनावारी मैत्री समाजको सहकार्य, Save the Children को सहयोग, दलित समाज उत्थान समिति नेपाल को समन्वय तथा महोत्तरी गाउँपालिका को आयोजनामा सम्पन्न कार्यक्रममा दलित तथा सदा समुदायका ८७ जना किशोरी तथा महिलाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय स्वास्थ्यकर्मीहरूले सुरक्षित महिनावारी व्यवस्थापन, सेनिटरी प्याडको सही प्रयोग, व्यक्तिगत सरसफाइ तथा प्रयोग भइसकेका प्याडहरूको सुरक्षित व्यवस्थापनका बारेमा जानकारी प्रदान गरेका थिए। साथै, हात धुने सही विधिबारे व्यवहारिक प्रदर्शन समेत गरिएको थियो।
कार्यक्रमको उद्देश्य किशोरी तथा महिलाहरूमा महिनावारी सम्बन्धी विद्यमान भ्रम, विभेद तथा गलत धारणाहरू न्यूनीकरण गर्दै सुरक्षित, स्वस्थ र सम्मानजनक महिनावारी अभ्यासलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।
सहभागीहरूलाई महिनावारीका समयमा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने विषय, सरसफाइ कायम राख्ने उपाय तथा संक्रमणबाट बच्ने तरिकाबारे जानकारी गराइएको थियो। कार्यक्रम अन्तर्गत “महिनावारीका बेला किशोरीहरू कमजोर हुँदैनन्, उनीहरू सक्षम र सशक्त छन्” भन्ने सन्देश प्रवाह गर्न कबड्डी प्रतियोगिता समेत आयोजना गरिएको थियो। प्रतियोगितामा प्रथम हुने टोलीलाई प्रोत्साहनस्वरूप थप सेनिटरी प्याड वितरण गरिएको थियो।
कार्यक्रममा महोत्तरी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष रञ्जित चौधरी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। वडा अध्यक्ष चौधरीले किशोरी तथा महिलाको स्वास्थ्य, शिक्षा तथा सम्मानजनक महिनावारी व्यवस्थापन सुनिश्चित गर्न यस्ता जनचेतनामूलक कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
आयोजक संस्थाहरूले समुदायस्तरमा महिनावारी स्वास्थ्य तथा सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
